Media Network

सत्ता गठबन्धन निकट पत्रकार संगठनलाई आयोगले माग्योे २४ घण्टे स्पष्टीकरण


खबरस्टोरी संवाददाता

२६ बैशाख २०७९,सोमबार

काठमाडौँ । सत्तारुढ गठबन्धन दल निकट पत्रकार संगठनहरूसँग निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । 

गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्नका लागि गठबन्धनमा आबद्ध दल निकट पत्रकारका संगठनले शनिबार विज्ञप्ति निकालेर आग्रह गरेका थिए ।आयोगले विज्ञप्तिमा हस्ताक्षर गर्ने प्रेस युनियनका बद्री सिग्देल, प्रेस सेन्टरका विष्णु सापकोटा, समाजवादी प्रेसका शम्भू श्रेष्ठ, प्रेस मञ्चका केशव अर्याल र प्रगतिशील पत्रकार संघका श्यामलाल पोखरेललाई स्पष्टीकरण सोधेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलेका अनुसार नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाल, नेपाल प्रेस मञ्च र प्रगतिशील पत्रकार संघलाई २४ घण्टाभित्र विज्ञप्ति हटाएर प्रष्टीकरण बुझाउन निर्देशन दिइएको हो । पत्रकारका पाँच संगठनले जारी गरेको विज्ञप्तिले आयोगको ध्यानाकर्षण भएर स्पष्टीकरणसहित निर्देशन दिइएको प्रवक्ता पौडेलले बताए ।आयोगले त्यसरी विज्ञप्ति निकाल्नु निर्वाचन आचारसंहिताविपरीत र पत्रकारिताको आचारसंहिताविपरीत हुन्छ कि हुँदैन भनेर सोधेको छ । पाँच संगठनका नेताहरूले विज्ञप्तिमा लेखिएका थिए, ‘राष्ट्रिय एकता कायम गर्न, संविधान रक्षा गर्न, परिवर्तनका एजेन्डालाई संस्थागत गर्न, पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गर्न र कानुनी राज्यको पालना गरी लोकतन्त्रको वास्तविक अभ्यास गर्नका लागि आफ्नो स्वतन्त्र विवेक प्रयोग गरी वाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न आम नेपाली मतदाता महानुभावहरुमा हार्दिक अपिल गर्दछौं ।’

आयोगले यसरी पक्षधरता देखाएर विज्ञप्ति जारी गर्नु आचारसंहिताविपरीत भएको भन्दै स्पष्टीकरण सोधेको हो । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद