Media Network

सत्ता गठबन्धनको भागबण्डाः कांग्रेसलाई तीन महानगर


खबरस्टोरी संवाददाता

५ बैशाख २०७९,सोमबार

काठमाडौं । सत्तागठबन्धन दलहरु ६ वटा महानगरपालिकामध्ये तीन महानगर नेपाली कांग्रेसलाई दिनेमा सहमति नजिक पुगेका छन् । काठमाडौंको पेरिशडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा सोमवार पत्रकार सम्मेलन गरी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अरु ३ वटा महानगरपालिका तीन पार्टीलाई दिनेबारेमा छलफल भइरहेको बताए । 

६ वटा महानगरपालिका मध्ये ३ वटा महानगरपालिका नेपाली कांग्रेसलाई दिनेबारेमा छलफल केन्द्रित रहेको प्रचण्डले जानकारी दिए । अरु ३ वटा महानगरपालिकामा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) लाई एक एक वटा दिनेबारेमा छलफल भइरहेको प्रचण्डले बताए । गठबन्धनमा रहेका चार पार्टीलाई महानगरको बाँडफाँड गर्दा राष्ट्रिय जनमोर्चालाई भने भाग नपुग्ने भएको छ । सोमवार साँझसम्ममा महानगरपालिकाको टुंगो लगाइने प्रचण्डले जानकारी दिए । 

माओवादीको भरतपुरमै दाबी 

तालमेल गरी निर्वाचनमा होमिन लागेका पाँच दलमध्ये नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका नै दाबी गरेको छ । यसअघि प्रचण्डपुत्री रेणुले जितेको ठाउँ हुनाले भरतपुर नै माओवादीले दाबी गर्दै आएको छ । तर प्रचण्डले आफूले भरतपुर नै चाहिने दाबी नगरेको उल्लेख गरे । 

‘यद्यपि यसअघि रेणुले नै जितेको हुनाले भरतपुर सजिलो हुन्छ मात्र भनिएको हो’, प्रचण्डले भने, ‘मोटामोटी हामीलाई भरतपुर दिने भन्ने छ । कांग्रेसलाई पनि सहमत छ । आज साँझ नै टुंगिन्छ ।’ प्रचण्डले माओवादीलाई एउटा पनि नदिएर अरुलाई बाँड्ने भन्ने कुरा सम्भव नभएको बताए । 

प्रचण्डले भरतपुर महानगर र त्यसमा पनि रेणु नै नभई भएन भन्ने आफ्नो कुनै अडान नरहेको दाबी गरे । ‘६ वटा महानगर छन्, गठबन्धनले जुन दिन्छ, त्यही हुन्छ भनेका छौं, हामीलाई काठमाडौं दिए पनि हुन्छ ।’– उनले भने ।  

सहमति नभए माओवादी एक्लै भिड्न तयार 

माओवादी अध्यक्ष प्रचण्डले सिट भागबण्डामा सहमति नजुटे आफूहरु एक्लै भिड्न पनि तयार भएको बताए । 

कसैसँग सहमति भएन भने एक्लै भिड्ने गरी तीन महिनाअघि देखि नै तयारी गरेको उनले दाबी गरे । प्रचण्डले माओवादी एक्लै गए पनि राम्रै हुने बताए । ‘यो पटक माओवादी केन्द्र एक्लै गए पनि राम्रै हुन्छ । तर गठबन्धनबाट जान्छौं भनेका छौं ।’– प्रचण्डले भने ।

प्रचण्डले आफूहरु धर्म निरपेक्षता र गणतन्त्र पक्षधरताको गठबन्धन भएको पनि दाबी गरे । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद