Media Network

सत्ता गठबन्धनको चुनावी कार्यविधि बन्यो


खबरस्टोरी संवाददाता

७ बैशाख २०७९,बुधबार

काठमाडौं । वैशाख ३० गते हुने भएको स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्न लागेका सत्ता गठबन्धन पाँच दलले कार्यविधि बनाएका छन् । देशभरका ६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकामा केन्द्रबाट नै सिट बाँडफाँडका लागि छलफल तीब्र बनाएका उनीहरुले मोटामोटी सिट बाँडेर कार्यविधि बनाएका हुन् । चुनावी तालमेलको विषयमा सत्ता साझेदार पाँच दलको कार्यविधिको खाका भने तयार भइसकेको छैन । 

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार पनि दुई चरणमा बैठक बसेको थियो । गठबन्धनले महानगर र उपमहानगरका साझा उम्मेदवार तय गर्ने र कार्यविधि बनाउने कार्यलाई अन्तिम रूप दिएको नेताहरुले बताएका छन् ।   

सबै महानगर र उपमहानरमा केन्द्रबाट नै सिट बाँड्ने र कार्यविधि बनाउने भन्दै झण्डै पाँच दलले एक साताअघिदेखि कसरत गर्दै आएका थिए । 

सोमबारदेखि नै निर्णायक छलफलमा जुटेका सत्तारूढ दलहरू नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले मध्यरातसम्म नै छलफलमा थिए । 

महानगर र उपमहानगरमा यसरी भागबण्डा 

छ महानगरमध्ये तीनवटा नेपाली काँग्रेसलाई र अन्य तीनवटामा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीलाई एक एक सिट दिने सहमति दलहरुले गरेका छन् । 

यस्तै, ११ उपमहानगरपालिकामध्ये सातवटाको नेतृत्व नेपाली काँग्रेस, दुईवटा माओवादी केन्द्र र एक–एकवटा एकीकृत समाजवादी र जनता समाजवादीलाई दिने सहमति गठबन्धनले गरेको छ ।  

उनीहरुले काठमाडौँ महानगरपालिकासहित ललितपुर र विराटनगरको नेतृत्व काँग्रेसलाई, भरतपुर माओवादी केन्द्रलाई, पोखरा एकीकृत समाजवादीलाई र वीरगञ्ज जनता समाजवादीलाई हुने गरी सिट बाँडेका छन् । 

यसैगरी, उपमहानगरपालिकातर्फ इटहरी, धरान, बुटवल, कलैया, तुलसीपुर, नेपालगञ्ज र धनगढीको प्रमुख पद काँग्रेसले लिने गरी छलफल भइरहेको उहाँले बताउनुभयो । जितपुर सिमरा र घोराही माओवादी केन्द्रलाई, हेटौँडा एकीकृत समाजवादीलाई र जनकपुर जनता समाजवादीलाई हुने गरी सिट बाँडेका छन् । यो भागबण्डाप्रति कांग्रेसले भने सहमति दिइसकेको छैन । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद