Media Network

स्थानीय चुनावः आज देशैभर निर्वाचन अधिकृतको कार्यालय स्थापना


खबरस्टोरी संवाददाता

८ बैशाख २०७९,बिहीबार

काठमाडौं । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि विहीबार देशैभरका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने भएको छ ।  देशभरका ७ सय ५३ वटै स्थानीय तहमा बिहीबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न लागिएको हो । आयोगले स्थानीय निर्वाचनका लागि ७७ जना मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ जना निर्वाचन अधिकृत खटाएको छ ।

आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्लाका अन्य स्थानीय तहमा जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरू र निजामती सेवाका उपसचिवहरू रहने गरी निर्वाचन अधिकृत तोकेको छ । 

जिल्ला सदरमुकाम रहेको स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत र जिल्लाको अन्य स्थानीय तहमा निर्वाचन अधिकृत जिम्मेवारीमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ । 

आयोगले उम्मेदवारको मनोनयनको लागि यही वैशाख ११ र १२ गतेको समय तोकेको छ । १३ गते उम्मेदवारमाथि उजुरी दर्ता गर्ने दिन तोकिएको छ भने १४ गते निर्वाचन अधिकृतले त्यसबारेमा निर्णय दिने कार्यक्रम छ ।

निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनको प्रक्रिया सञ्चालन गर्न सहज हुने आयोगले जनाएको छ । 

निर्वाचन आयोगले चैत २५ गतेदेखि नै लागू हुने गरी निर्वाचन आचारसंहिता लागू गरिसकेको छ । आचारसंहिताअनुसार राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्हअंकित ज्याकेट, कमिज, भेष्ट, टी–सर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै पनि किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, ब्याच, ट्याटुजस्ता सांकेतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न, विक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने उल्लेख छ । 

आचारसंहिता उलंघन गर्ने राजनीतिक दल, उम्मेदवार, ब्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानूनी ब्यवस्था छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद