Media Network

स्थानीय चुनावः गठबन्धन एउटै, घोषणापत्र अर्कै


खबरस्टोरी संवाददाता

८ बैशाख २०७९,बिहीबार

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन आपसमा तालमेल गरेर सहभागिता जनाउँदैछन् ।  नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा तालमेल गरेर स्थानीय तहको निर्वाचनमा भाग लिने तयारी गरेका हुन् ।

आपसमा तालमेल गरेर निर्वाचनमा जाने निर्णय गर्दै चुनावी सभासमेत संयुक्त रुपमा गर्ने भएका उनीहरुले चुनावी घोषणापत्र भने आ–आफ्नै किसिमको घोषणा गरेका छन् । 

प्रजातन्त्रिक, माक्र्सवादी तथा समाजवादी र उदार पूँजीवादको विचार बोक्ने पार्टीहरु आपसमा तालमेल गरेर आ–आफ्ना एजेण्डा बोकेर निर्वाचनमा होमिएका छन् । 

जसपाः प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पहिचानको राज्य 

गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले बुधबार मात्रै स्थानीय तह निर्वाचन लक्षित चुनावी घोषणापत्र सार्वजनिक गर्यो । जसपाले आफ्नो चुनावी घोषणापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख तथा पहिचानको राज्य संरचनामा जोड दिएको छ । जबकी प्रमुख सत्ता साझेदार कांग्रेस पहिचानको विपक्षमा विगतदेखि नै उभिदै आएको छ । 

 पहिचानमा आधारित प्रदेशको रचना, प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीसहितको शासकीय स्वरुप, प्रदेशका क्षेत्राधिकार, बहुभाषिक तथा बहुसंस्कृतिवादमा आधारित राज्य तथा नागरिकता सम्बन्धी केही प्रावधानहरु अहिलेको संविधानसँग विमतिका विषय भन्दै जसपाले स्थानीय निर्वाचनको अभियान सञ्चालन गर्दैगर्दा संविधान संशोधन तथा पुनर्लेखनको पक्षमा पार्टीले जनआवाजलाई अझ जोडले मुखरित गर्ने घोषणापत्रमा नै उल्लेख गरेको छ । 

२०७८ माघ ३ गते २ नम्बर प्रदेशको नाम मधेस प्रदेशसभाबाट अनुमोदन भएसँगै देशले पहिचानमा आधारित नामांकन हुनुलाई जसपाले आफ्नो घोषणापत्रमा पनि सफलता ठानेको छ ।  

समुन्नत संघीय समाजवादलाई पार्टीको मार्गदर्शक सिद्धान्त मान्दै आएको जसपाले पहिचानसहितको संघीयता, समाजवादी अर्थ–राजनीतिक दिशा, समतामूलक समृद्धि र मानवीय खुशी, सुशासन र भ्रष्टाचारमा शून्य सहनशीलता, समानुपातिक निर्वाचन प्रणाली र समावेशीकरणदेखि बहुलतायुक्त तथा बहुसांस्कृतिक राष्ट्रवाद भनेको छ । 

एकीकृत समाजवादीको घोषणापत्रः २०० वाट विजुली, ५ हजार लिटर पानी निःशुल्क 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रमकाबीच पार्टीको घोषणा पत्र सार्वजनिक गरे । 

स्थानीय तह चुनाव लक्षित घोषणापत्रमा निःशुल्क ५ सय लिटर खानेपानी र दुई सय युनिट विद्युत निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । 

घोपाणापत्रमा हरेक घरपरिवारमा स्वच्छ खानेपानी पुर्याउने काम स्थानीय सरकारको उच्च प्राथमिकता हुने जनाइएको छ । सोहीअनुसार बजेटको प्राथमिकता निर्धारण गरिने समेत घोषणापत्रमा उल्लेख छ । 

घोषणापत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका काम, २०५१ सालमा एमालेको नौ महिने सरकारले गरेका ‘आफ्नो गाउँ आफैं बनाऔं’ लगायतका कार्यक्रमहरु पनि समावेश गरेको छ । 

घोषणापत्रमा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपर्नाको कारणलाई विशेष जोड दिएर उल्लेख गरिएको छ । 

माओवादी केन्द्रको परिकल्पनाः समाजवादउन्मुख समृद्धि

नेकपा माओवादी केन्द्रले गएको चैतमा नै स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मिनी घोषणा पत्र सार्वजनिक गर्यो । 

स्थानीय तह निर्वाचन– २०७९ का सन्दर्भमा माओवादी केन्द्रले निकालेको मिनि घोषणापत्रमा समाजवादउन्मुख समृद्धिको परिकल्पना गरेको छ । 

सार्वजनिक, सामुदायिक (सहकारी) र निजी क्षेत्रको पहलकदमी र सहकार्यमा आधारित आर्थिक विकासको मोडेलबाट समाजवादउन्मुख समृद्धिको परिकल्पना गरेको माओवादीको घोषणापत्रमा छ । 

‘समाजवादको परम्परागत मोडेलप्रति उदासिन र बजारका एकाधिकारबाट पीडित हुँदै निराश र निमुखा बन्दै गएका जनसमुदायको विशाल हिस्सालाई आर्थिक सामाजिक विकासको साझेदार बनाउने र उनीहरुलाई प्रतिफलको हिस्सेदार समेत बनाउने नेकपा (माओवादी केन्द्र) को विकास मोडेलबाट नै समाजवादउन्मुख समृद्धि सम्भव हुँदै जानेछ ।’–माओवादी केन्द्रले भनेको छ । 

माओवादी केन्द्रले एक पालिका, एक विशेष उत्पादन, एक वडा एक विशेष पहिचान जस्ता नारा स्थानीय चुनाव लक्षित घोषणापत्रमा छ । 

यस्तै, प्रत्येक कृषि पेशाामा संलग्न किसानहरुलाई किसान परिचयपत्र, कृषक पेन्सनको व्यवस्था गरिने छ र कृषिमा आमूल रुपान्तरणको लागि सहुलियत ऋण र अनुदान,व्यवसायिक तालिम, प्रविधि र प्राविधिक जनशक्ति र बजारीकरणमा आवश्यक सहुलियतको व्यवस्था गर्ने उल्ल्ेख छ । 

कांग्रेसको आफ्नै प्रतिवद्धतापत्र

सरकारको नेतृत्व गरेको र गठबन्धनको नाइके नेपाली कांग्रेसले पनि आफ्नै प्रतिवद्धतापत्र जारी गर्दैछ । 

कांग्रेसले महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा ‘स्थानीय तह निर्वाचन २०७९, घोषणा पत्र तयारी समिति’ बनाएको छ । उक्त समितिले घोषणापत्र लेख्ने काम गरिरहेको जनाएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद