स्थानीय चुनावः सिट बाँडफाँड र केन्द्रको घेराबन्दी


खबरस्टोरी संवाददाता
१५ बैशाख २०७९, बिहीबार
स्थानीय चुनावः सिट बाँडफाँड र केन्द्रको घेराबन्दी
काठमाडौं । स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि वैशाख ३० गते मतदानको कार्यक्रम रहेको छ । देशभरका ६ महानगरपालिका र ११ उपमहानगरपालिकासहित ७ सय ५३ वटा पालिकामा एकै पटक हुन लागेको निर्वाचनका लागि उम्मेदवार मनोनयन र उम्मेदवारमाथिको दाबी विरोधको कार्यक्रम सकिसकेको छ । 

निर्वाचन आयोगले मनोनयन दर्ता गरिएका उम्मेदवारविरुद्ध परेका दाबीविरोध तथा उजुरीमाथि जाँचबुझ गर्ने काम गरिरहेको छ । निर्वाचन कार्यक्रमअनुसार आयोगले विहीबार उजुरीमाथि निर्णय गरी विहीबार नै उम्मेदवारको प्रथम नामावली प्रकाशन गर्ने छ भने शुक्रबार फिर्ता लिन चाहेका उम्मेदवारले नाम फिर्ता लिएपछि अन्तिम नामावली प्रकाशन गर्ने र शनिबार निर्वाचन चिन्ह प्रदान गर्नेछ । 

निर्वाचन आयोगले दिएको विवरणअनुसार स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि विभिन्न पदमा १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको छ । कुल ३५ हजार २२१ पदका लागि हुने निर्वाचनमा दलगत उम्मेदवारीसँगै स्वतन्त्रबाट पनि ठूलो संख्यामा उम्मेदवारी मनोनयन दर्ता भएको छ । 

महानगर, उपमहानगर तथा नगरपालिकाको प्रमुख पदमा मात्रै स्वतन्त्रबाट १ हजार ३ सय ७६ जना र गाउँपालिकाको अध्यक्ष पदमा १ हजार २४ जनाको उम्मेदवारी परेको आयोगको लगत विवरणमा उल्लेख छ । 

दलीय गठबन्धन र सिट बाँडफाँड 

स्थानीय तह निर्वाचनमा रमाइलो पक्ष भने सत्तारुढ दलहरुले नै तालमेलका लागि आपसमा गठजोड गरेका छन् । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेससँगै सत्तारुढ दलहरु नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाबीचको तालमेल गरी अधिकांश स्थानीय तहमा उम्मेदवारी दिएका छन् । 

चुनावी तालमेल गरी अघि बढेको सत्ता गठबन्धनमा आवद्ध दलहरुको शीर्ष नेताहरुले नै केन्द्रमा बसेर महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँड गरे । केन्द्रमा बसेर स्थानीय सरकारको जनप्रतिनिधि छनोटका लागि सिट बाँडिएपछि गठबन्धनको स्थानीय नेता कार्यकर्तामा असन्तुष्टी तीब्र बन्यो । 

सबैभन्दा बढी नेपाली कांग्रेसभित्रै असन्तुष्टी चुलियो । असन्तुष्टीका बाबजुद पार्टी छाड्ने र उम्मेदवारी दर्ता गर्ने क्रम तीब्र बन्यो । 

सत्ता गठबन्धनको घेराबन्दीकै कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि केही विशेष ठाउँहरुमा अन्य साना ठूला दलहरुसँग तालमेल गर्नुका साथै आफ्नो चुनाव चिन्हसमेत सापटी दिएका छन् । एमालेको चुनाव चिन्ह लिएर निर्वाचनमै भाग नलिने बताएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले समेत चुनावमा भाग लिएका छन् । 

स्थानीय नेता कार्यकर्तामाथि कारबाहीको धम्की 

स्थानीय नेता कार्यकर्ताको असन्तुष्टीकै कारण गठबन्धनको केन्द्रको ह्वीप उलंघन गर्दै ठूलो संख्यामा बागी उम्मेदवारी परेको छ । 

देशैभर गठबन्धनलाई नै प्रभाव पार्ने गरी बागी उम्मेदवारी खडा भएपछि बुधबार प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पाँचै दलका शीर्ष नेताको बैठक बसि केन्द्रको निर्णय पालना गर्न ठाडो निर्देशन दिएको छ । तर पार्टीकै प्रवाह नगरी स्वतन्त्रबाट उम्मेदावारी दिएर केन्द्रलाई चुनौति दिएका कार्यकर्ताको मनोबल यस्ता निर्देशनबाट विचलित नहुने असन्तुष्ट कार्यकर्ता बताउँछन् । 

गठबन्धनको शीर्ष नेताको निर्णयको पहिलो बुँदामा ६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको निर्णयविपरित गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी सम्बन्धित दलले फिर्ता गर्ने उल्लेख छ । तर दलको पत्र नपाएपछि अधिकांशले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । कांग्रेसको केही असन्तुष्ट कार्यकर्ताले नेपाली कांग्रेस (बीपी)को चुनाव चिन्ह लिएर समेत उम्मेदवारी दिएका छन् । यस्तो अवस्थामा केन्द्रको निर्देशनको अर्थ देखिदैन । 

दोस्रो बुँदामा गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गरेका उम्मेदवारीहरु फिर्ता गराउन सम्बन्धित दलले आवश्यक कार्य गर्ने भनेका छन् । 

गठबन्धनका शीर्ष नेताहरुले बुधबार नै सबै महानगर र उपमहानगरमा गठबन्धनको प्रदेश तथा जिल्ला संयन्त्रको बैठक बुधबार नै राखेर वडाभित्रका पदहरुमा समेत सिट बाँडफाँडको समझदारी गर्न निर्देशन दिएका छन् । साथै उनीहरुले गठबन्धनभित्रका दल बाहेकका दलसँग भएको तालमेल सम्बन्धित दललाई नै खारेज गराउन निर्देशन दिएका छन् ।