Media Network

स्थानीय चुनावका लागि आजदेखि उम्मेदवारी दर्ता


खबरस्टोरी संवाददाता

११ बैशाख २०७९,आईतवार

काठमाडौं । आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह चुनावका लागि आजदेखि उम्मेदवारी दर्ता गरिने भएको छ । निर्वाचन कार्यक्रमअनुसार आइतबार र सोमवार उम्मेदवार मनोनयन दर्ता गरिनेछ । आइतवार र सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनको समय तय गरिएको आयोगले जनाएको छ । 

प्रत्येक निर्वाचन अधिकृतको कार्यालयमा तोकिएका सबै प्रक्रिया पूरा गरेर उम्मेदवारी दर्ता गर्न सकिने छ । दुई दिनको मनोनयन दर्ता गरेका उम्मेदवारलाई चार दिनपछि निर्वाचन चिन्ह दिने निर्वाचन आयोगले जनाएको छ । 

स्थानीय तह निर्वाचनको मतदानका लागि अब १९ दिन मात्र बाँकी छ । 

२०७४ सालमा निर्वाचित जनप्रतिनिधिले उम्मेदवारी दिन भने त्यसअघि नै राजीनामा दिनुपर्ने निर्वाचन आयोगले आचारसंहिता बनाएको छ । स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि आइतबार र सोमवार ७७ वटा मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।

स्थानीय तह निर्वाचन कार्यक्रमअनुसार, मनोनयन दर्ता गरेका उम्मेदवारबारे वैशाख १३ गते दाबी विरोध वा उजुरी दर्ता गर्ने, १४ र १५ गते जाँचबुझ गर्ने र १७ गते निर्वाचन चिन्ह प्रदान गरिनेछ । 

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि चैत २५ गतेदेखि नै आचारसंहिता लागू गरिसकेको छ । आचारसंहिताअनुसार राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अंकित ज्याकेट, कमिज, टोपी, गम्छा, मास्क, लकेट वा कुनै पनि किसिमको पहिरन वा लोगो, झोला, ब्याच, ट्याटुजस्ता सांकेतिक सामग्री उत्पादन, प्रयोग वा विक्री वितरणसमेत गर्न पाइदैन । आचारसंहिता उलंघन गरेमा कम्तीमा एक लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने आयोगले स्पष्ट गरेको छ । 

यस्तै, निर्वाचन आयोगले आचारसंहितामा उम्मेदवारहरूले निर्वाचन परिचालनका लागि गर्न सक्ने खर्चको सीमा पनि तोकिएको छ । 

स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ८७ प्रकारका मतपत्र प्रयोगमा ल्याउने भएको छ । हरेक जिल्लामा फरक फरक मतपत्र हुने भएकाले ८७ प्रकारको मतपत्र प्रयोगमा ल्याइने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद