निर्वाचन आयोगले सोमबार साँझसम्म देशभरबाट लिएको विवरणअनुसार ७१ हजार, २३७ जनाले मनोनयन दर्ता गराएका छन् । उम्मेदवारको विवरण लिने क्रम जारी नै रहेकोले अझ बढ्ने अनुमान आयोगको छ ।
देशभर ६ वटा महानगर, ११ वटा उपमहानगर र २७६ वटा नगरपालिका रहेका छन् । साँझसम्मको विवरणअनुसार प्रमुखमा २ हजार १ सय १८ जना तथा उपप्रमुखमा १ हजार ३ सय १८ जनाले मनोनयन गरेका छन् ।
यस्तै, ४६० गाउँपालिकाको अध्यक्षमा २ हजार २ सय २१ र उपाध्यक्ष १ हजार ५ सय ४४ जना चुनावी मैदानमा उत्रिएका छन् ।
यसैगरी ६ हजार ७ सय ४३ वडाध्यक्षका लागि १७ हजार ७०१ले उम्मेदवारी दिएका छन् भने २६ हजार ९ सय ६२ वडा सदस्यका लागि महिला सदस्यमा ११ हजार ६५५, दलित महिला सदस्यमा १० हजार ३७१ र सदस्यमा २४ हजार ३०९ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।
मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध १३ गते मङ्गलवार उजुरी दिने समय तोकिएको छ भने १४ र १५ गते मनोनयन पत्र र उजुरीबारे जाँच गरी १५ गते उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ । वैशाख १६ गते उम्मेदवारी फिर्ता तथा सोही दिन अन्तिम नामावली प्रकाशित गरिने छ । वैशाख १७ गते उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ ।