Media Network

स्थानीय तह निर्वाचनः मतदाता १ करोड ७७ लाख


खबरस्टोरी संवाददाता

१३ चैत्र २०७८,आईतवार

काठमाडौं । आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि १ करोड ७७ लाख मतदाता रहेका छन् । 

निर्वाचन आयोगले २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुन पाउने मतदाताको अन्तिम नामावली आइतबार सार्वजनिक गरेको हो । 

आयोगका अनुसार आगामी स्थानीय निर्वाचनमा सहभागी हुन पाउने कुल मतदाताको संख्या १ करोड ७७ लाख ३३ हजार ७२३ रहेको छ । कुल मतदातामध्ये पुरुष ८९ लाख ९२ हजार १० जना, महिला ८७ लाख ४१ हजार ५३० जना र अन्य १८३ जना रहेका छन् । 

दोस्रो संविधानसभाले २०७३ असोज ३ गते नयाँ संविधान जारी गरेपछि २०७४ सालमा तीन चरणमा स्थानीय निर्वाचन गरिएको थियो । स्थानीय तह निर्वाचन, २०७४ मा कुल मतदाता १ करोड ४० लाख ७२ हजार ४२४ रहेका थिए । कुल मतदातामध्ये पुरुष ७० लाख ७९ हजार १५३,  महिला ६९ हजार ९३ हजार १२७ र तेस्रो लिङ्गी १४४ जना रहेका थिए ।

२०७४ सालमा नै एकसाथ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गरिएको थियो । सो निर्वाचनमा कुल मतदाता संख्या १ करोड ५४ लाख २७ हजार ९३८ रहेको थियो । कुल मतदातामध्ये ७७ लाख ७६ हजार ६२८ पुरुष, ७६ लाख ५१ हजार १४३ महिला र १६७ तेस्रो लिङ्गी रहेका थिए ।

निर्वाचन आयोगको तथ्याङ्क अनुसार वि. सं. २०१५ सालको नेपालको पहिलो संसदीय निर्वाचनमा ४२ लाख ४६ हजार ४६८ मतदाता रहेका थिए । 

आम निर्वाचन २०१५ फागुन ७ गतेदेखि सुरु भई अन्तिम परिणाम २०१६ वैशाख २८ गते प्रकाशित भएको थियो । २००७ सालमा नेपालमा प्रजातन्त्रको स्थापना भएपछि २०१५ सालमा भएको प्रथम आम निर्वाचनमा ४२.१८ प्रतिशत मतदाताहरूले मतदान गरेका थिए ।

२०३७ सालमा गरिएको जनमत संग्रहमा कुल मतदाता ७१ लाख ९२ हजार ४५१ रहेका थिए । 

२०४६ सालमा देशमा प्रजातन्त्र पुनःस्थापन भएपछि २०४८ सालमा भएको आम निर्वाचनमा १ करोड ११ लाख ९१ हजार ७७७ मतदाता रहेका थिए । 

नेपालमा पहिलो स्थानीय निर्वाचन २०४९ सालमा भएको थियो । सो निर्वाचनमा कूल मतदाता  १ करोड २० लाख रहेका थिए । कुल ३ हजार ९९५ गाउँ विकास समिति र ३६ नगरपालिकाहरूमा निर्वाचन गरिएको थियो । 

२०५१ सालको मध्यावधि निर्वाचनमा कूल मतदाताको संख्या १ करोड २३ लाख २७ हजार ३२९ रहेको थियो । 

२०५४ सालको स्थानीय निर्वाचनमा १ करोड २५ लाख ३८ हजार २७३ मतदाता रहेका थिए । त्यसपछि २०५६ सालमा भएको आम निर्वाचनमा १ करोड ३५ लाख १८ हजार ८३९ मतदाता रहेका थिए । 

माओवादीको १० वर्षे सशस्त्र युद्धपछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा १ करोड ७६ लाख ११ हजार ८३२ मतदाता रहेका थिए । पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपछि २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा १ करोड २१ लाख ४७ हजार ८६५ मतदाता थिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद