Media Network

७४८ स्थानीय तहको परिणाम सार्वजनिक, ५ स्थान बाँकी, बाजुराको बुढीगंगामा अन्यौल


खबरस्टोरी संवाददाता

११ जेष्ठ २०७९,बुधबार

काठमाडौं । वैशाख ३० गते सम्पन्न निर्वाचनको अहिलेसम्म ७४८ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगबाट बुधबार साँझसम्म प्राप्त परिणामअनुसार नेपाली कांग्रेसले ३ सय २७ स्थानीय तहमा जित्दै पहिलो स्थान कायम राखेको छ । 

कांग्रेसले ललितपुर महानगरपालिकासति १३९ पालिका प्रमुख र १ सय ८८ गाउँपालिका अध्यक्षसहित जित हासिल गरेको छ । कांग्रेसले अझै पालिका प्रमुख पदमा अग्रता लिइरहेको छ । 

यसैगरी, नेकपा एमाले ८१ पालिका प्रमुख र १२३ अध्यक्षसहित अहिलेसम्म २ सय ४ स्थानीय तहको प्रमुख जित्दै दोस्रो स्थान कायम राखेको छ । जारी मतगणनाका क्रममा एमाले अन्य एक पालिका प्रमुखमा अगाडि छ ।  

यस्तै,  नेकपा माओवादी केन्द्रले अहिलेसम्म १२१ स्थानीय तहको नेतृत्व जित्दै तेस्रो स्थानमा रहेको छ । माओवादीले एक महानगर, एक उपमहानगरपालिकासहित २५ पालिका प्रमुख र ९६ गाउँपालिका अध्यक्ष जितेको छ । 

चुनावी तालमेल गरि चुनाव लडेको गठबन्धनको दल जनता समाजवादी पार्टी (जसपा)ले ३० पालिकाको प्रमुख जितेको छ । 

यसैगरी, गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादीले अहिलेसम्म पोखरा महानगर र हेटौडा उपमहानगरपालिकासहित २० पालिकामा जित हासिल गरेको छ । 

यस्तै, यसअघि मधेसमा बलियो मानिएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले १६ स्थानीय तह जितेको छ । 

गठबन्धनकै अर्को दल राष्ट्रिय जनमोर्चाले अहिलेसम्म ४ स्थानीय तहको प्रमुख जितेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ तथा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले ४ स्थानीय तह जितेको छ । 

यसैगरी सिके राउत नेतृत्वको जनमत पार्टीले २ स्थानीय तहमा जित हासिल गरेको छ । नेमकिपा, तराइ मधेस लोकतान्त्रिक पार्टी, जनता प्रगतिशिल पार्टी र विवेकशील साझाले एक एक सिट जितेका छन् ।

अहिलेसम्म स्वतन्त्रबाट धरान, धनगढी र जनकपुरधाम उप–महानगरपालिकासहित १२ स्थानीय तहको प्रमुख पद जितेको छ । 

परिणाम नआएका पाँच स्थानीय तह 

परिणाम आउन बाँकी पाँच स्थानीय तह मध्ये बाजुराको बुढिगंगा कांग्रेस र एमालेले विभिन्न वडाका बुथ कब्जा गरेपछि अन्यौल हुँदा मतगणना हुनै सकेको छैन । 

अन्य चार स्थानीय तहमध्ये काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले अग्रता लिइरहेका छन् । काठमाडौंकै उपमेयरमा भने मतगणना बाँकी छँदै एमाले उम्मेदवार सुनिता डंगोलले जित्ने निश्चित भइसकेको छ । मतगणना गर्न बाँकी मत भन्दा बढी मत प्रतिष्पर्धीको भन्दा बढी छ । 

अन्य चार पालिका मध्ये एक स्थानीय तहमा कांग्रेस, एकमा एमाले र एकमा एकीकृत समाजवादीले अग्रता लिइरहेको निर्वाचन आयोगले जनाएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद