Media Network

स्वतन्त्र चुनाव जित्ने १० स्थानीय सरकारका प्रमुखहरु


खबरस्टोरी संवाददाता

८ जेष्ठ २०७९,आईतवार

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ मा अहिलेसम्म दुई उपमहानरपालिकासहित १० स्थानीय तहकाे प्रमुखमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । 

देशभरका ७५३ स्थानीय तहमध्ये अहिलेसम्म २ उपमहानगरपालिकासहित १० जना स्वतन्त्र उम्मेदवारले स्थानीय सरकारको नेतृत्व सम्हाल्दैछन् ।  

कैलालीको धनगढी नगरपालिका र सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्रबाट निर्वाचित भए भने महोत्तरीको बर्दिबास, जुम्लाको चन्दननाथ, कालीकोटको खाँडाचक्र नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । 

यस्तै, कालीकोट सान्नी त्रिवेणी, डोल्पा डोल्पोबुद्ध, बैतडी डिलासैनी, भोजपुर साल्पासिलिछा र ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिकाको अध्यक्ष पनि स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । 

रोचक त यो छ कि देशकै केन्द्रीय राजधानी रहेको काठमाडौं महानगरपालिकाको मेयरसमेत स्वतन्त्र उम्मेदवारले जित्ने निश्चित भएको छ । 

कसले कसलाई हराए ? 

धनगढी उपमहानगरको मेयरमा गोपाल हमाल भारी मत अन्तरले निर्वाचित भए । आँप चुनाव चिन्ह पाएका हमालले कांग्रेसका नृपबहादुर ओडलाई झण्डै दोब्बर मतले पराजित गरे । 

यस्तै, धरानका लौरो चुनाव चिन्ह पाएका हर्क साङपाङले गठबन्धनबाट उठेका कांग्रेसका किशोर राईलाई पराजित गरे । साम्पाङ २० हजार ८२१ मत पाएर विजयी भए । उनका प्रतिद्वन्दी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मत पाए ।  

महोत्तरीको बर्दिबास नगरपालिकामा जेब्रा चुनाव चिन्ह पाएर निर्वाचित स्वतन्त्र उम्मेदवार प्रल्हाद कुमार क्षेत्रीले माओवादी केन्द्रका राजु खड्कालाई पराजित गरे ।

कर्णाली प्रदेशको जुम्लास्थित चन्दननाथ नगरपालिकाको मेयरमा राजुसिंह कठायत निर्वाचित भए । खानेपानीको धारा चुनाव चिन्ह पाएका उनले कांग्रेसका पदमबहादुर शाहीलाई पराजित गरे । 

यसैगरी, कालीकोटको खाँडाचक्र नगरपालिकामा हाँस चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार कमलबहादुर शाही विजयी भए । उनले एमालेका जसी प्रसाद पाण्डेलाई हराए । 

कालीकोटकै सान्नी त्रिवेणी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार मोहनबहादुर केसी निर्वाचित भए । पुतली चुनाव चिन्ह पाएका केसीले माओवादी केन्द्रका डम्बरबहादुर शाहीलाई पराजित गरे । 

यस्तै, डोल्पा डोल्पोबुद्ध गाउँपालिकामा खरायो चिन्ह पाएका कार्मा छोइवेल गुरुङले माओवादीका तेम्बा गुरुङलाई पराजित गरे । 

बैतडीको डिलासैनी गाउँपालिकामा पनि स्वतन्त्र उम्मेदवार सन्तोष प्रकाश जोशी निर्वाचित भए । पुतली चिन्ह पाएका उनले माओवादीकै लोकेन्द्रबहादुर रानालाई पराजित गरे ।

यसैगरी, भोजपुरको साल्पासिलिछो गाउँपालिकामा खानेपानीको धारा चिन्हबाट निर्वाचित दौलथकुमार कुलुङ राईले कांग्रेसका महेश राईलाई पराजित गरे । 

यस्तै, ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा पनि खानेपानीकै धारा चिन्ह पाएका ज्ञानेन्द्र रुम्दालीले एमालेका रुपलाल तामाङ झण्डै दुई हजार बढी मत अन्तरले पराजित गरे । 

यी हुन्, स्वतन्त्र निर्वाचित सरकार प्रमुखहरु

कैलालीको धनगढी उपमहानगरपालिका मेयर गोपाल हमाल (२६८६५ मत)

सुनरीको धरान उपमहानगरपालिका मेयर हर्कराज राई (साम्पाङ) (२०८२१ मत) 

महोत्तरीको बर्दिबास नगरपालिका मेयर प्रल्हाद कुमार क्षेत्री (१४२१० मत)

जुम्लाको चन्दननाथ नगरपालिका मेयर राजुसिंह कठायत (२४०३ मत)

कालीकोट खाँडाचक्र नगरपालिका मेयर कमलबहादुर शाही (२९१९ मत)

कालीकोट सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसी (१८१९ मत)

डोल्पा डोल्पोबुद्ध गाउँपालिका अध्यक्ष कार्मा छोइवेल गुरुङ (५३५ मत)

बैतडी डिलासैनी गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशी (३१८९ मत)

भोजपुर साल्पासिलिछो गाउँपालिका अध्यक्ष दौलथकुमार कुलुङ (राई) (१८१४ मत) 

ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली (५०२१ मत)


Share:
Reaction :
ताजा समाचार
खेलकुद