Media Network

स्वतन्त्र उम्मेदवार बढी भएपछि मतपत्रमा निर्वाचन चिन्ह पुगेन


खबरस्टोरी संवाददाता

१७ बैशाख २०७९,शनिबार

काठमाडौं । विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दिनेको संख्या बढी हुँदा निर्वाचन आयोगले थप चिह्नसहित फेरि मतपत्र छाप्नुपर्ने भएको छ । देशैभर ठूलो संख्यामा स्वतन्त्र उम्मेदवारी दर्ता भएका छन् । आयोगले उम्मेदवार मनोनयनपछि मतपत्र छपाइ गर्दा छपाइ गर्न समय नपुग्ने भन्दै त्यसअघि नै मतपत्र छापेको थियो । तर आयोगले अनुमान गरेभन्दा पनि ठूलो संख्यामा स्वतन्त्र उम्मेदवार परेपछि केही पालिकामा पुनः मतपत्र छपाउनुपर्ने अवस्था आएको निर्वाचन आयोगलाई उद्धृत गर्दै आजको नागरिक दैनिकले समाचार प्रकाशित गरेको छ । 

केही पालिकामा स्वतन्त्र उम्मेदवारी अनुमानभन्दा बढी पर्दा यसअघि छापिएको मतपत्रअनुसार उम्मेदवारलाई चुनाव चिह्न दिन नपुग्ने देखिएको हो । जसले गर्दा स्वतन्त्र उम्मेदवारी धेरै परेका स्थानीय तहका लागि फेरि मतपत्र छाप्ने तयारी आयोगले गरेको छ । 

शुक्रबार ५ बजेसम्म उम्मेदवारी फिर्ताको समयमा ठूला पार्टीबाटै असन्तुष्ट बनेका स्वतन्त्र उम्मेदवारले फिर्ता लिन सक्ने अपेक्षा पनि आयोगको थियो । तर अपक्षाकृत उम्मेदवार फिर्ता नभएपछि केही पालिकामा पुनः मतपत्र छपाइ गर्नुपर्ने भएको हो । 

आयोगले यसअघि छापिएको मतपत्रमा चिह्न अपुग हुने पालिकाका लागि मात्र फेरि मतपत्र छाप्ने तयारी गरेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद