Media Network

तिलोत्तमामा मेयर कांग्रेस र उपमेयर एमाले विजयी


खबरस्टोरी संवाददाता

१३ जेष्ठ २०७९,शुक्रबार

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाँण २४३९६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार मोहन चापागाईंले २३ हजार ६ सय ३१ मत प्राप्त गरी पराजित भए । 

मेयरमा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार सुन्दर गुरुङले ५ हजार ६ सय १४ मत प्राप्त गरे भने राप्रपाका भुवन शर्मा खनालले ३ हजार ३३८ मत प्राप्त गरे । 

उपप्रमुखमा भने नेकपा एमालेकी जगेश्वरदेवी चौधरी विजयी भएकी छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका हेमन्त पाण्डेलाई १२ हजार मतान्तरले पराजित गर्दै चौधरी विजयी भएकी हुन् । चौधरीले २३ हजार ८६ मत पाउँदा पाण्डेले ११ हजार ५ सय ४६ मत मात्र पाए । 

उपमेयरमा जनमुक्तिकी गीता सारुले ७ हजार ६ सय ८ मत ल्याइन् भने राप्रपाकी मन्जु चौधरीले ४ हजार ८ सय ६१ मत प्राप्त गरिन् । 

कांग्रेसका रुपन्देही जिल्ला सभापति समेत रहेका गृहमन्त्री बालकृष्ण खांणका सहोदर भाई रामकृष्ण खांण २०७४ सालको निर्वाचनमा एमालेका बासुदेव घिमिरेसँग दुई हजार सातसय मतान्तरले पराजित भएका थिए । ८५ हजार मतदाता रहेको तिलोत्तमामा कुल ६४ हजार ७०७ मत खसेको थियो ।

तिलोत्तमामा काँग्रेसले नौ र एमालेले सातवटा वडाअध्यक्ष जितेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद