Media Network

धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमाल भारी मतले निर्वाचित


खबरस्टोरी संवाददाता

८ जेष्ठ २०७९,आईतवार

धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर ओडलाई झण्डै दोब्बर मतले पराजित गर्दै स्वतन्त्र उम्मेदवार गोपाल हमाल मेयरमा निर्वाचित भएका हुन् । 

मेयरमा निर्वाचित स्वतन्त्र उम्मेदवार हमालले आँप चुनाव चिन्ह पाएका थिए । उनले २६ हजार ८६५ मत प्राप्त गरि निर्वाचित हुँदा गठबन्धनका ओडले १४ हजार ८१७ मत मात्रै प्राप्त गरे । 

गठबन्धनबाट कांग्रेसका उम्मेदवार ओड धनगढीको निवर्तमान मेयरसमेत हुन् । मेयरमा निर्वाचित हमालले अघिल्लो स्थानीय निर्वाचनमा ओडसँग नै पराजित भएका थिए । 

यस्तै, मेयरका एमाले उम्मेदवार रणबहादुर चन्दले ९ हजार ११५ मत प्राप्त गरी तेस्रो स्थानमा रहे । 

यस्तै, धनगढीको उपमेयरमा एमालेकी कन्दकला राना विजयी भएकी छन् । रानाले  १५ हजार ४७९ मत प्राप्त गरिन् ।  उनको निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट उपमेयर उम्मेदवार माओवादी केन्द्रकी शान्ति कुमारी अधिकारी क्षेत्रीले १२ हजार ६७० मत मात्रै प्राप्त गरिन् ।

उपमेयरकै स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६६०९ मत मात्र ल्याइन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद