उम्मेदवारी फिर्ता लिन गृहमन्त्री खाँणले गरेको आग्रह पौडेलद्वारा अस्वीकार


खबरस्टोरी संवाददाता
१५ बैशाख २०७९, बिहीबार
उम्मेदवारी फिर्ता लिन गृहमन्त्री खाँणले गरेको आग्रह पौडेलद्वारा अस्वीकार
चितवन। भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले गृहमन्त्री बालकृष्ण खाँणलाई उम्मेदवारी फिर्ता नलिने जवाफ दिएका छन् । गृहमन्त्री बालकृष्ण खाँणसँगको भेटमा पौडेलले उम्मेदवारी फिर्ता लिन खाँणले गरेको आग्रह अस्वीकार गरेका हुन् ।

पौडेललाई भेट्न गृहमन्त्री खाँण भरतपुर-७ स्थित पौडेल निवास पुगेका थिए । गृहमन्त्रीसँगको भेटमा आफूले उम्मेदवारी फिर्ता लिन नसक्ने कुरा स्पष्ट रूपमा बताएको पौडेलले बताए । आफूले दिएको उमेदवारी चितवनवासीको लोकतन्त्र र आफ्नो पार्टीलाई बचाउनका लागि सञ्चालन गरेको अभियानसँग मात्रै सम्बन्धित रहेको भन्दै उनले केन्द्रीय गठबन्धनसँग सम्बन्धित नरहेको बताए । 

‘मेरो कारणले केन्द्रीय गठबन्धनलाई गाह्रो पर्नुपर्ने केही छैन’, उनले भने, ‘परिस्थिती धेरै अगाडि बढिसकेको छ । मैले एउटा सामान्य नागरिकका हिसाबले उम्मेदवारी दिए । तपाईहरूले पनि सामान्य कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएछ भनेर बुझ्नुस् भने भनेँ ।’

पार्टीको अनुशासनविपरीत काम गरेको जस्तो लागे कारबाही गर्न पनि भनेको उनले बताए । विभिन्न जिम्मेवारी दिन गृहमन्त्रीले प्रस्ताव गरेको संकेत गर्दै उनले के प्रस्ताव गरे भन्ने कुरा भने खुलाउन चाहेनन् । आफूलाई कुनै प्रस्तावले नछुने उनले बताए । पहिलो भेटमा पौडेलले उमेदवारी फिर्ता नलिने बताएपछि फेरि भेट्ने भनेर गृहमन्त्री निस्किएका छन् । 

पौडेललाई भेट्नुअघि गृहमन्त्री खाँणले कांग्रेसका पुराना नेता कृष्णलाल सापकोटा र महासमिति सदस्य मिना खरेललाई भेटेका थिए । सापकोटा र खरेलले पनि उम्मेदवारी फिर्ता गराउन सहयोग गर्न गरेको खाँणको आग्रह अस्वीकार गरेका छन्।