उम्मेदवार मनोनयन आज अन्तिम, गठबन्धनलाई सकस


खबरस्टोरी संवाददाता
१२ बैशाख २०७९, सोमबार
उम्मेदवार मनोनयन आज अन्तिम, गठबन्धनलाई सकस
काठमाडौं । आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह चुनावका लागि आज बेलुका ५ बजेसम्म मनोनयन दर्ता हुने भएको छ । निर्वाचन आयोगको कार्यक्रमअनुसार आइतबार र सोमवार मनोनयन दर्ता कार्यक्रम राखिएको छ । सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्र मनोनयनको समय तय गरिएको छ । 

आइतबार र सोमवार मनोनयन दर्ता गरेका उम्मेदवारलाई वैशाख १७ गते निर्वाचन चिन्ह दिने निर्वाचन आयोगले जनाएको छ । 

स्थानीय तह निर्वाचनको मतदानका लागि अब १८ दिन मात्र बाँकी छ । 

२०७४ सालमा निर्वाचित जनप्रतिनिधिले उम्मेदवारी दिन भने त्यसअघि नै राजीनामा दिनुपर्ने निर्वाचन आयोगले आचारसंहिता बनाएको छ । देशभरका ७७ वटा मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता भइरहेको छ । 

स्थानीय तह निर्वाचन कार्यक्रमअनुसार, मनोनयन दर्ता गरेका उम्मेदवारबारे वैशाख १३ गते दाबी विरोध वा उजुरी दर्ता गर्ने, १४ र १५ गते जाँचबुझ गर्ने र १७ गते निर्वाचन चिन्ह प्रदान गरिनेछ । 

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि चैत २५ गतेदेखि नै आचारसंहिता लागू गरिसकेको छ । आचारसंहिताअनुसार राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अंकित ज्याकेट, कमिज, टोपी, गम्छा, मास्क, लकेट वा कुनै पनि किसिमको पहिरन वा लोगो, झोला, ब्याच, ट्याटुजस्ता सांकेतिक सामग्री उत्पादन, प्रयोग वा विक्री वितरणसमेत गर्न पाइदैन । आचारसंहिता उलंघन गरेमा कम्तीमा एक लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने आयोगले स्पष्ट गरेको छ । 

यस्तै, निर्वाचन आयोगले आचारसंहितामा उम्मेदवारहरूले निर्वाचन परिचालनका लागि गर्न सक्ने खर्चको सीमा पनि तोकिएको छ ।