उम्मेदवारले नाम फिर्ता लिन सक्ने, आजै अन्तिम नामावली प्रकाशन


खबरस्टोरी संवाददाता
१६ बैशाख २०७९, शुक्रबार
उम्मेदवारले नाम फिर्ता लिन सक्ने, आजै अन्तिम नामावली प्रकाशन
काठमाडौं । वैशाख ३० गते देशैभर हुन लागेको स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुले आज उम्मेदवार फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । शुक्रबार विहान १० बजेदेखि बेलुका ५ बजेभित्र उम्मेदवार फिर्ता लिन सक्नेछन् । शुक्रवार नै बेलुका ५ बजेदेखि ६ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिँदैछ । 

उम्मेदवारविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले बुधबारदेखि जाँचबुझ गरी विहीबार प्रथम नामावली प्रकाशन गरेको थियो ।

निर्वाचन आयोगका प्रवक्ता शालिकराज शर्मा पौडेलकाअनुसार शुक्रबार अन्तिम नामावली प्रकाशनपछि शनिवार उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ । निर्वाचन चिन्ह नपाउँदासम्म स्वतन्त्र उम्मेदवारहरुले आफ्नो चिन्हको प्रचारप्रसार गर्न पाएका छैनन् । निर्वाचन चिन्ह पाएपछि १० दिन निर्वाचनको प्रचारप्रसार गर्न सकिने आयोगले जनाएको छ । 

देशैभरका ६ महानगर, ११ उपमहानगरसहित ७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि वैशाख ३० गते मतदान हुँदैछ । मतदान हुनुभन्दा ४८ घण्टा अगाडिदेखि मौन अवधि शुरु हुने भएकाले वैशाख २७ गतेपछि चुनावको कसैले पनि प्रचारप्रसार गर्न पाइँदैन ।