निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले प्रणाली यकिनरूपमा प्रविष्ट भइनसके पनि करिब चार हजारले फिर्ता लिएको जानकारी प्राप्त भएको बताए ।
आयोगले शुक्रवार नै बेलुका उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको छ । उम्मेदवारविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले बुधबारदेखि जाँचबुझ गरी उम्मेदवार फिर्ताको समयपछि अन्तिम नामावली प्रकाशन गरेको थियो ।
आयोगका प्रवक्ता पौडेलकाअनुसार शनिवार उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ । निर्वाचन चिन्ह नपाउँदासम्म स्वतन्त्र उम्मेदवारहरुले आफ्नो चिन्हको प्रचारप्रसार गर्न पाएका छैनन् । शनिवार निर्वाचन चिन्ह पाएपछि १० दिन निर्वाचनको प्रचारप्रसार गर्न सकिने आयोगले जनाएको छ ।
देशैभरका ६ महानगर, ११ उपमहानगरसहित ७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि वैशाख ३० गते मतदान हुँदैछ । मतदान हुनुभन्दा ४८ घण्टा अगाडिदेखि मौन अवधि शुरु हुने भएकाले वैशाख २७ गतेपछि चुनावको कसैले पनि प्रचारप्रसार गर्न पाइँदैन ।