विप्लव कार्यकर्ताले चितवनको भरतपुर महानगरपालिकादेखि रोल्पाको सुनछहारी गाउँपालिकासम्म प्रमुख पदमा उम्मेदवारी दिएका छन् ।
चितवनको भरतपुर महानगरपालिकाको मेयरमा विप्लव नेकपाकी दुर्गा सुवेदीले उम्मेदवारी दर्ता गराएकी छन् भने चितवनकै टाँडी नगरपालिकामा मिनप्रसाद सापकोटाले मेयरमा उम्मेदवारी दिएका छन् ।
यस्तै, हेटौँडा उपमहानगरपालिकामा पनि विप्लव नेतृत्वको नेकपाको कार्यकर्ताले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । यसअघि मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)मा रहेकी बबिता उप्रेतीले हेटौंडाको मेयर पदमा उम्मेदवारी दर्ता गराएकी छन् । स्वतन्त्र उम्मेदवारी दिएकी बबितालाई विप्लव नेतृत्वको नेकपाले सघाउने बताएको छ ।
यस्तै, नवलपरासीपूर्व देबचुली नगरपालिकाको नगरप्रमुखमा विप्लव नेकपाका श्याम शर्मा भुसालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । भ्रष्टाचारमुक्त सुशासनयुक्त समृद्ध नगरपालिका निर्माण गर्नका लागि आफूले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएको शर्माले बताए ।
यसैगरी, विप्लव नेकपाले सिन्धुली जिल्लाको तीनवटा स्थानीय तहमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा शशी राईले मेयरमा उम्मेदवारी दिएकी छन् भने दुधौलीमा प्रभात दाहालले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी सिन्धुलीकै मरिण गाउँपालिकामा दिनेश सारु मगरले गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, विप्लव नेकपाका केन्द्रीय नेता तथा शिक्षक संगठनका पूर्वअध्यक्ष भेषराज भुसालले पनि कपिलवस्तुको शिवराज नगरपालिकामा मेयरमा उम्मेदवारी दिएका छन् ।
यस्तै, धादिङको गल्छी गाउँपालिकाबाट विप्लव नेकपाका कान्छा तामाङ (गोपाल) ले अध्यक्ष पदमा स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् ।
रोल्पामा सूर्य चिन्हबाट विप्लव समूहको उम्मेदवारी
विप्लव नेकपाका कार्यकर्ताले रोल्पाको सुनछहरी गाउँपालिकामा पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । विप्लव नेकपाका केन्द्रीय सदस्य अमर झाँक्रीले गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका हुन् । झाँक्रीले एमालेको सूर्य चिन्हबाट उम्मेदवारी दिएका छन् ।
झाँक्रीलाई गठबन्धनकै कांग्रेस तथा प्रमुख प्रतिपक्षी दल एमालेले समेत समर्थन जनाएको छ । सहमतिअनुसार गाउँपालिकाको उपाध्यक्षमा विप्लव पक्षले नेपाली कांग्रेसलाई सघाउने जनाएको छ ।
प्रहरीबाट मारिएका कुमार पत्नीको मेयरमा उम्मेदवारी
तीन वर्षअघि प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएका विप्लव समूह सर्लाहीका तत्कालिन जिल्ला इन्चार्ज कुमार पौडेलकी श्रीमतीले बागमती नगरपालिकाको मेयरमा उम्मेदवारी दिएकी छन् ।
पौडेलकी श्रीमती धनकुमारी खड्का पौडेल (कला) ले आइतबार बागमती नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
विप्लव समूहका तत्कालिन इन्चार्ज पौडेलको २०७६ साल असार ५ गते प्रहरीले प्रहार गरेको गोली लागेर नवलपुरस्थित जंगलमा मृत्यु भएको थियो ।
विप्लवकै फोटो राखेर भोट माग्दै
विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताले स्थानीय तह निर्वाचनमा विप्लवकै फोटो टाँसेर सामाजिक सञ्जालबाटै भोट मागिरहेका छन् ।
भ्रष्टाचारविरुद्ध तथा एमसीसी परियोजनाका विरुद्धमा आफ्नो उम्मेदवारी भएको अधिकांश विप्लवको उम्मेदवारको भनाइ छ ।
सिन्धुलीकै मरिण गाउँपालिकामा अध्यक्ष पदमा उम्मेदवारी दिएका दिनेश सारु मगरले राष्ट्रघाती एमसीसी सम्झौता खारेज, भ्रष्टाचारीलाई कारबाही तथा दलाल पूँजीवादी ब्यवस्थाको भण्डाफोर गर्दै सामाजिक सञ्जालबाटै भोट मागेका छन् ।
यस्तै, बाग्मती नगरपालिकाको मेयरमा उठेकी धनकुमारीले आफ्ना स्वर्गीय श्रीमान कुमारको तस्विरसमेत राखेर भोट मागेकी छन् ।