यी हुन् गठबन्धनका मेयर र तिनका बागी उम्मेदवार


खबरस्टोरी संवाददाता
१३ बैशाख २०७९, मंगलवार
यी हुन् गठबन्धनका मेयर र तिनका बागी उम्मेदवार
काठमाडौं । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा तालमेल गरेर अघि बढेको नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरसहित देशैभरका पालिकामा संयुक्त उम्मेदवारी दिएको छ । 

चुनावी तालमेल गरी सिट भागबण्डा गरी उम्मेदवारी दिए पनि अधिकांश ठाउँमा बागी उम्मेदवारी परेको छ । खासगरी नेपाली कांग्रेसले नेतृत्व नपाएको पालिकामा कांग्रेसले बागी उम्मेदवारी दर्ता गराएका छन् । 

गठबन्धनबाट मनोनयन 

पाँच दलीय गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा कांग्रेस नेता प्रकाशमान सिंह पत्नी सिर्जना सिंहले उम्मेदवारी दर्ता गराएकी छन् । कांग्रेसको हालै सम्पन्न १४ औं महाधिवेशनमा प्रकाशमान सिंह सभापतिको आकांक्षी बनेपछि मात्रै सिर्जना कांग्रेसको सक्रिय राजनीतिमा आएकी हुन् । 

कांग्रेसको १४ औं महाधिवेशनमा उनी महाधिवेशन प्रतिनिधि बनेकी थिइन् ।

यसैगरी, गठबन्धनकातर्फबाट नेपाली काँग्रेसका चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दर्ता गरेका छन् ।  उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि ललितपुर महानगरमा मेयरमा निर्वाचित महर्जन भएका थिए । 

यस्तै, पोखरा महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । एकीकृत समाजवादीले मेयर पाएपछि उपमेयरमा कांग्रेसकी कोपीला रानाभाटले सोमबार उम्मेदवारी दर्ता गराइन् । 

अधिकांश बागी कांग्रेसकै 

कांग्रेसले एकीकृत समाजवादीलाई मेयर पद छाडेपछि कांग्रेस कार्यकर्ता रुष्ट भई बागी उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसका युवा नेता विमलबहादुर कार्कीले आइतबार नै बागी उम्मेदवारी दर्ता गराए भने कांग्रेसका अर्का नेता ऋषि सापकोटाले सोमवार मेयरमै बागी उम्मेदवारी दिएका छन् । सापकोटा कांग्रेस कास्कीका पूर्व कोषाध्यक्ष हुन् । 

पार्टीले पत्र दिन अस्वीकार गरेपछि उनीहरु दुवैले स्वतन्त्र उम्मेदवार दर्ता गराए ।  

यता, सवत्र्र चासोको ठाउँ बनेको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् । भरतपुरमा पनि कांग्रेसको असन्तुष्ट पक्षबाट रेनुविरुद्ध बागी उम्मेदवारी परेको छ । 

नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट चितवनको भरतपुर महानगरको मेयरमा पूर्वसांसद जगन्नाथ पौडेलले उम्मेदवारी दिएका छन् । पौडेलको प्रस्तावक कांग्रेसका पूर्वसभापति कृष्णलाल सापकोटा र समर्थकमा कांग्रेस महासमिति सदस्य मीना खरेल रहे ।  

उता, विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले मनोनयन दर्ता गरेका छन् । उपमेयरमा जनता समाजवादी पार्टी (जसपा)का अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराए । 

यस्तै, गठबन्धनकै तर्फबाट वीरगञ्ज महानगरपालिकाको मेयरमा जसपाका राजेशमान सिंहले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । 

सत्तारूढ गठबन्धनको भागबन्डामा कांग्रेसले वीरगन्जको उपमेयर पाएको थियो । 

यसैगरी, सत्ता गठबन्धनकै तर्फबाट बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । पाण्डे कांग्रेस बुटवल नगर सभापति समेत हुन् । 

यस्तै, सत्तारुढ गठबन्धनमा भएको भागबण्डा अनुसार जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा लालकिशोर साहले उम्मेदवारी दर्ता गराएका छन् । साह यसअघि तत्कालीन राजपा नेपालबाट मेयरमा निर्वाचित भएका थिए । जसपाले मेयर पाएपछि उपमेयरमा नेपाली काँग्रेसले लिएको छ ।

जसपालाई मेयर छाडेको भन्दै कांग्रेसको असन्तुष्ट पक्षले जनकपुरमा पनि बागी उम्मेदवारी दिएको छ । जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि नेपाली काङ्ग्रेसबाट असन्तुष्ट रहेका मनोजकुमार साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । 

यस्तै, सत्तारुढ गठबन्धनबाट धनगढी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड र उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले उम्मेदवारी दर्ता गराए ।