Media Network

‘नो फ्लाई जोन’ र रुसी जेट सहयोग गर्न अमेरिकी कांग्रेससँग जेलेन्स्कीको याचना


खबरस्टोरी संवाददाता

२२ फाल्गुन २०७८,आईतवार

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी कांग्रेससँग हतियार माग गरेका छन् । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले अमेरिकी कांग्रेसको करिब ३ सय सदस्यसँग युक्रेनलाई ‘नो फ्लाइ जोन (उडान निषेधित क्षेत्र) बनाउनका लागि पुनः माग गरेका छन् । 

उनले भिडियो लिङ्कबाट जोडिए कांग्रेस सदस्यहरुलाई सम्बोधन गरेका हुन् । 

साथै जेलेन्स्कीले रुसबाट तेल खरिद गर्ने काममा पनि प्रतिवन्ध लागनउ माग गरेका छन् । यसका साथै रुसी सेनासँग भिड्नका लागि रुस निर्मित फाइटर जेट आफूहरुलाई उपलब्ध गराउन पनि युक्रेनी राष्ट्रपतिले अनुरोध गरेका छन् । उनले युक्रेनका पाइलटले रुस निर्मित फाइटर जेट चलाउन जान्ने पनि उल्लेख गरेका छन् । 

उनको जवाफमा सिनेट नेता चक शुमरले पूर्वी युरोपबाट ती सामग्रीहरु लिनका लागि अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले मद्दत गर्ने स्पष्ट गरेका छन् । 

जेलेन्स्कीले अतिरिक्त सैन्य सहयोग तथा मानवीय सहयोगको आवश्यकताका लागि पनि कांग्रेस सदस्यहरुलाई ध्यानाकर्षण गराएका छन् । यद्यपि अमेरिकी सिनेटले उनको दुवै अनुरोध खारेज गरिदिएको समाचार एजेन्सीहरुले जनाएका छन् । 

नो फ्लाई जोन बनाइदिन गरेको अनुरोध तथा रुसबाट तेल खरिद गर्ने कुरा प्रतिबन्ध लगाउन गरेको माग सिनेटले अस्वीकार गरेको छ । नो फ्लाई जाने गर्दा नेटो सदस्य देशले रुसको साथ प्रत्यक्ष लडाइको सम्भावना बढ्न सक्ने भन्दै नो फ्लाइ जोनको माग खारेज गरेको हो । 

साथै, रुसबाट तेल खरिद प्रतिबन्ध लगाउँदा तेलको मूल्य वृद्धि हुने खतरा रहेको थियो । 

यसैबीच, युक्रेनका राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि टेलिफोन वार्ता गरेका छन् । 

बाइडेनसँगको वार्तामा सुरक्षा, युक्रेनलाई आर्थिक सहयोग र रुसमाथि प्रतिबन्ध लगाउने विषयमा छलफल भएको राष्ट्रपति जेलेन्स्कीले एउटा ट्विटमा उल्लेख गरेका छन् । 

यस्तै, जेलेन्स्कीले इजरायलका प्रधानमन्त्री नाफतली बेन्नेटसँग पनि टेलिफोन वार्ता गरेका छन् । जेलेन्स्कीसँग छलफल गर्नुअघि बेन्नेटले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई मस्कोमा भेट गरेका थिए ।

इजरायल अमेरिकाको प्रमुख साझेदार भए पनि प्रधानमन्त्री बेन्नेटले रुससँगको सम्बन्धलाई पनि मझबुत बनाउन खोजेका छन् । जेलेन्स्कीको अनुरोधमा इजरायल रुस र युक्रेनबीच मध्यस्थता गर्न इच्छुक देखिएको छ । (एजेन्सी)

Share:
Reaction :
ताजा समाचार
खेलकुद