युक्रेन–रुस युद्धः १० लाख बढीले युक्रेन छाडे, युरोपकै ठूलो परमाणु प्लान्टमा आक्रमण


खबरस्टोरी संवाददाता
२० फाल्गुन २०७८, शुक्रबार
युक्रेन–रुस युद्धः १० लाख बढीले युक्रेन छाडे, युरोपकै ठूलो परमाणु प्लान्टमा आक्रमण

काठमाडौं । युक्रेन र रुसबीच जारी युद्धका कारण अहिलेसम्म १० लाख भन्दा बढीले युक्रेन छाडेका छन् । 

संयुक्त राष्ट्रकाअनुसार अहिलेसम्म १० लाख बढीले युक्रेन छाडेका हुन् । 

अझै पनि युक्रेनको शहर खारकिएवको ट्रेन स्टेशनमा दशौं हजार नागरिक देश छाड्ने तयारीमा निस्किएका छन् । 


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने युक्रेनले ठूलो संख्यामा मानिसहरुलाई ट्रेन स्टेशनमा बन्धक बनाएर राखेको बताएका छन् । खारकिएवमा ३ हजार १ सय ७९ जना भारतीय विद्यार्थीहरु मात्रै टे«ेन स्टेशनमा रोकिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । 

युक्रेनको सुरक्षा बलले हजारौं विदेशी नागरिकलाई खारकिएव छोड्नबाट निस्किन नदिएको पुटिनको आरोप छ । 

युरोपकै सबैभन्दा ठूलो परमाणु प्लान्टमा आगलागि

युरोपकै सबैभन्दा ठूलो परमाणु प्लान्टमा आगो लागेको पनि अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

युक्रेनका इनरहोडार शहरका मेयर दिमित्रो ओर्लोवकाअनुसार उक्त शहरमा लगातार बमबारी भइरहेको छ । ओर्लोवले यसभन्दा अघि इनरहोडार शहरको बाहिर रुसी तथा युक्रेनी सेनाकाबीच भिषण लडाई भएको जानकारी दिएका थिए । 


रुसी सैनिक ट्याङबाट शहरमा प्रवेश गरी परमाणु प्लान्टमा नियन्त्रण गर्ने कोशिष गरेको थियो । तर बुधबार स्थानीय नागरिक तथा प्लान्टका कर्मचारीले सडकमा अवरोध गरी प्लान्टको बाटो अवरोध गराइदिएका थिए । 

युक्रेनमा पछिल्लो समय चार वटा परमाणु प्लान्ट चलिरहेका थिए । 

दोस्रो चरणको वार्ता असफल 

रुस र युक्रेनबीच युद्धविरामको पहल स्वरुप बेलारुसमा दोस्रो चरणको वार्ता पनि असफल भएको छ । 

दोस्रो चरणको वार्ता पनि बिना निश्कर्ष सकिएको युक्रेनका राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोदोलिकले सामाजिक सञ्जालमा लेखेका छन् । 

उनकाअनुसार युक्रेनका विदेशी नागरिकहरुलाई भने सुरक्षित तरिकाले निकाल्नेबारेमा भने सहमति भएको छ ।