डिल्ली निरौला
पुस महिनाको घाम त्यसैपनि प्यारो हुने नै भयो । त्यसमा पनि जीवनको नौ दशक पार गरेका बृद्ध हजुरवुबा हजुरआमालाई प्यारो नहुने कुरै भएन । उमेरले नौ दशक पारगरेर एक सतक पुग्न लागेका केदारप्रसाद र उनकी धर्मपत्नी पून्यमाता खतिवडा हिउँदे घामको स्वादलिएर गफिँदै छन्, आफ्नै निजी निवास साधुटारमा ।
सुदूरपूर्व नेपालको साविक मेची अञ्चलमा दुईवटा साधुटार छन्, एउटा पाँचथर जिल्लामा पर्छ भने अर्काे भने झापा जिल्लामा । झापा जिल्लाको नयाँ व्यापारिक केन्द्र विर्तामोडदेखि सात किलोमिटर उत्तर लागेपछि साधुटार भन्ने स्थानीय टोल आउँछ । साविक खुदुनाबारी गाविस भएपनि हाल अर्जुनधारा वार्ड नम्बर एक पर्छ साधुटार ।
९० बसन्त पार गरिसकेका बृद्ध हजुरबा हजुरआमा खाटमा बसेका छन् । परम्परागत नेपाली आसन राडि ओछ्याइएको छ । सँगै नाङ्लोमा राजमाका कोशाहरू छन् । छेउमा थालमा सुन्तलाहरू छन् । जाने बित्तिकै बाहुननानी थालका सुन्तला मलाइ पनि बाड्नुहुन्छ । सुन्तलाखाने र राजमाका कोशा छोडाउने काम सँगसँगै हुन थाल्छ ।
राडि ओछ्याएको खाटबाट पर पहाडको क्षितिज देखिन्छ । उक्त पहाड इलाम जिल्लाको शन्तिनगरमा पर्छ । घाम झापाबाट त्यतै इलामतिर ढल्किन लागेको छ । समिपमै साधुटार मन्दिरको भव्य गजुर, शंकराचार्य गुरूकुलको भवन, हरियो स्वामीवृक्ष देखिन्छ ।
यत्रो शताब्दि वर्ष नजिकको जीवन कसरी कटेछ ? सहजै उत्तर फुत्त निस्कन्छ “के नै गर्नु र गुरूकुलको गोठालो केटाहरूको रूँगालो बसेर समय बितेको पत्तै भएन” उनले भने । सँगै बसेकी धर्मपत्नी र भव्य र मुसुक्क हाँस्छिन् केदारबाको सेतै फूलेको दारी हल्लिन्छ ।
निधारमा तेर्सो सेतो त्रिपुण्ड, शरीरमा सेतो उपर्ना, सेतो धोती कछाड, खाइलाग्दो भव्य शरीर ज्योतिवान छ । बृद्ध शरीरका बाबजुत ह्रँसिलो अनुहार छ । बाआमासँगै बस्दा रसिलो ठठ्याउलो पारामा आफैमा साधुत्व भेटिन्छ । अनतरङ्ग कुराकानीमा न कुनै जीवनप्रतिको गुनासो छ, न भोगाइप्रतिको पश्चाताप । “जे गरियो शुद्ध सफा मन चिताएर गरियो, काम गर्दा गल्ति भए होला त्यसको हिसाब किताब स्वयम् भगवान शिवको तुलामा छ”– खतिवडा दम्पत्ति भन्छन् । अभिव्यक्तिका हरेक भनाइमा दार्शनिक आख्यान भेटिन्छ ।
पाँचथरको खुँगामा बिक्रम संबत् १९९२ सालमा उनको जन्म भयो । बाल्यकाल गाउँले परिवेशमै वित्यो । पिता यज्ञनिधि खतिवडा पनि शिक्षासेवी हुनुहुन्थ्यो । उहाँले गाउँका धेरै मानिसहरूलाइ पढाउनु भएको थियो । पिताजीबाटै प्रारम्भीक शिक्षा लिनु थियो । पाँचथरबाट ज्ञानको खोजीमा ताप्लेजुङ जानु भयो । ताप्लेजुङकै अर्खाैलेमा लम्साल गुरूबाट व्याकरणको प्रारम्भिक ज्ञान हाँसिल गर्नु भयो । गुरूसँग ताप्लेजुङ पाँचथरका धेरै तिर्थस्थलहरूमा घुम्नु भयो ।
पछि पुनः पाँचथर आएर बाँकी पढाइको काम गर्नु भयो । ज्ञानको तृष्णा मेटिएन त्यहाँबाट पढ्नलाइ आसाम पुग्नु भयो । त्यहाँ एक भण्डारी (पुरा नाम बिर्सिएको) गुरूसँग पढ्नुभयो । ‘वहाँ धुरन्धर विद्वान हुनुहुन्थ्यो, त्यस्ता महात्मा हाल बिलुप्त भइ सके । अहिले त जागिरको लागि मात्र पढ्ने गर्छन्’– विद्वता र दिव्यता सकिदै गएकोमा चिन्ता व्यक्त गर्दै भन्नुहुन्छ “हामीले कस्ता विद्यार्थी पढायौं, कस्ता बनाउँला भन्ने थियो, खै कस्ता भए” तेर्सा त्रिपुण्ड्रले भरिएको निधारमा चाहुरिएका सोही आकारमा तेर्सो धर्का प्रष्ट देखिन्छन्, अनुहाको चमकमा थोरै बादल लाग्छ ।
बिक्रम संबत् २०१६ सालमा पाँचथरको खुँगा पूख्र्याैली थलोमा ठूलो पहिरो आयो । सबै जायजेथा सकियो । त्यसपछि उनी शरण खोज्न लागिरहे । अन्त्यमा आफूले केही समय पढेको आसामको सन्धिया चुनपुरा भन्ने ठाउँमा पुगे । आफ्नो पूख्र्याैली थलो, बालापनका साथी, दाजुभाई, आफ्ना आफन्त छोडेर परदेशमा बस्न पटक्कै मन परेन । आफूले मानेका गुरू पाँचथरको जोरपोखरीमा थिए । गुनासो पोख्ने ठाउँमा कहाँ थियो र फेरी फर्केर गुरूकहाँ आए । “नयाँ ठाउँ मैले त बस्न सकिन यतै बस्ने व्यवस्था गरिदिनोस्, मलाइ त बस्नै मन लागेन अब म कहाँ जाउँ के गरुँ” गुरूसँग दण्डवत सहित पाउ परे उनी ।
गुरूले पनि पुत्रवत् व्यवहार गर्नुभयो र गुरूले भन्नुभयो “एक जना गुरूजी पठाइदिन्छु; शिक्षालय खोल र शिक्षाको सेवा गर हामी पनि पछि त्यतै आउँछौं” । सुरुमा त उनलाइ लाग्यो आफ्नै खाने बस्ने टुङ्गो छैन अब अर्काे गुरूको भार पनि थपियो “मैले मेरा गुरूले भनेको माने उनले पठाएका गुरू लिएर गएँ र आजसम्म पनि गुरूकै आज्ञा अनुसार गुरूकुलकै गोठालो भएर शिक्षाको सेवामा लागि राखेको छु” उनले भने अनुहार भावुकता र गम्भीरताले भरियो । ती गुरूको नाम थियो विष्णुभक्त भण्डारी । उहाँँले हालसम्म पनि चारपाने झापामा व्याकरण बिषयको अध्यापन गराइराख्नु भएको छ ।
खतिवडा पाँचथरबाट गुरू लिएर गएपछि आसाम ब्रम्हपुत्र पारी संधिया चुनपुरा भन्ने ठाउँमा पुगे । आफ्ना गुरूको निर्देशअनुसार पहिलो पटक विद्यालय खोले । त्यतिखेरको समयमा गुरूकुल नै शिक्षाको मूल धार थियो । बसाइ सरेर गएकै साल २०१७ मा गुरुकुल विद्यालय खोले । आफ्ना गुरूले पठाएका भण्डारीबाट पढाइ सुरु भयो ।
पाँचथरबाट बाढीपीडित भएर हिँडेका उनलाई आसाममा पनि बाढी पहिरो नै आइ लाग्यो । त्यहाँ पनि बाढीको विपत्ति सहनु पर्याे । २०२६ सालमा ब्रम्हपुत्रमा ठूलो बाढी आयो । थोरै थोरै जम्मा भएको सबै जाय ज्यथा बाढीले बगाएर लग्यो । दुःख गरेर स्थापना गरेको गुरूकुल विद्यालय पनि बाढीको चपेटामा पर्याे । अब कहाँ जाने ? सोंच आयो पुनः आफ्नै मातृभूमि नेपाल जाने ।
आफ्ना गुरुले दिएका गुरु र आफ्नो परिवार शिवाय उनीसँग केही पनि बचेन । बचेका जे थिए सोही लिएर उनी नेपाल फर्के । झापाको दमकमा बस्ति विकास भइरहेको थियो । यातायात विकास हुने क्रममा थियो । यताउता जाने साधन पैदल यात्रा नै थियो । आउने क्रममा दमक मुनी बढुवा भन्ने ठाउँमा बास बसे । केही समय त्यतै बस्ने निधो गरे र बस्न थाले ।
त्यही ठाउँमा बस्दै जाँदा उनले एकदिन आफ्ना गुरुको बचन सम्झे “शिक्षाको सेवा गर्नु” । आफूसँग आफ्ना गुरूले दिएका भण्डारी गुरू त छँदै थिए । गुरूको बचन अनुसार पुनः गुरूकुल विद्यालय खोले । केही बिद्यार्थी जम्मा भए अनी पढ्न थाले ।
त्यहाँ एकवर्ष पढाइ भयो । बसाइको स्थायीत्व भएन । तत्पश्चात् २०२७ झापाको साधुटारमा बसाइ सरे । साधुटारमा बस्न थालेपछि बसाइको सामान्य स्थाइत्व पनि भयो । पाँचथरमा रहेका आफ्ना केही दाजुभाइलाइ पनि त्यतै बोलाए । शिक्षाको सेवा गर्ने गुरूको बचन शिरमा झुण्डिएको तरबार जस्तो थियो । आफूलाई गुरूले दिएको गुरू पनि साथै थिए । साधुटार त्यतिबेला जंगलामुलुक थियो । पढ्ने पढाउने वातावरण थिएन । मानव बस्ति भर्खर बस्न थालेको थियो । जंगली जनावरको समेत डर थियो ।
२०२८ सालमा झापाको चारपानेमा पुनः अर्काे गुरूकुल सुरु भयो । साधुटार र चारपानेको दुरि एक बिहानको पैदलयात्रामा पुगिन्थ्यो । साधुटारबाट नियमित चामलतुमल बोकेर सञ्चालन गर्ने गरि गुरूकुल स्थापना भएर सञ्चालनमा आयो । तीन बर्षसम्म त्यसरीनै गुुुरूकुल विद्यालय चलाइयो । चारपानेमा त्यतिबेला चलेको गुरूकुलकै निरन्तरता स्वरुप आजसम्म शाङ्गवेद वेदविद्याश्रम गुरूकुल झापाकै उक्कृष्ट शिक्षालय मध्ये एक पर्छ ।
चारपानेमा त गुरूकुल चलिरहेको थियो । उता साधुटारमा मानव बस्ति विकास सँगै अर्काे शिक्षालयको खाँचो महसुस गरिदै थियो । केदारनाथकै पहलमा बिसं २०३३ सालबाट साधुटारमा अर्काे गुरूकुल विद्यालय सुरु गरियो । गुरुकुलको नाम भने उही चारपानेकै शाङ्गवेद नै राखियो । एउटै नाम गरेको दुइवटा नजिकै हुन पुग्यो । पछि साधुटारको गुरूकुललाइ वेदवेदांग संस्कृत पाठशाला भन्न थालियो । हाल त्यसको नाम शंकराचार्य पीठ रहेको छ । २०५४ सालबाट शंकराचार्य पीठ नामाकरण गरि सञ्चनलनमा आएको हो ।
पहाड र तराइको केन्द्रमा रहेको कारण उक्त ठाउँको गुरूकुल सर्वाधिक सफल हुन पुग्यो । तराइ भेग, पूर्वी पहाड तथा भारतका दार्जिलिङ, आसाम, सिक्किम सम्ममा विद्यार्थीले लाभ लिए । मेची अञ्चलका ताप्लेजुङ, पाँचथर, इलाम, झापा लगायत पूर्वी पहाडी जिल्लाको शिक्षाको केन्द्रनै बन्यो शंकराचार्य पीठ, साधुटार । “साधुटारमा त मस्तै विद्यार्थीले पढे, धेरै ठाउँमा गुरूकुलमा गोठालो गरियो तर साधुटारमा सारै धेरैले पढे यहाँ गरेको गुरूकुलको गोठालो कामले सारै सन्तुष्टि लाग्यो” खतिवडा भन्छन् ।
किन त गुरूकुल शिक्षा नै ? प्रश्नको सहज उत्तर छ की उक्त समयमा शिक्षाको मुलप्रवाह नै संस्कृत गुरूकुल थियो । “धनीका छोराछोरी हाइस्कुल पढ्न अन्यत्रै जान्थे । हामीजस्ता गरिबका छोराछोरी पढ्ने गुरूकुल नै त थियो नी” आमा पुन्यमाता खतिवडा भन्नुहुन्छ । आज सबैभन्दा के कुरामा खुशी लाग्छ । “मैले गोठाला गरेका विद्यार्थी मध्ये चार पाँच सय विद्यार्थीको नामै याद छ सबैले गरेर खाएका छन् त्यहीनै मेरो खुशी हो”– केदारनाथ खतिवडा भन्छन् ।
साधुटार गुरुकुलमा केटा चाँही मजाले हप्काएँ पाखुरीमा बल हुदा त सबैलाइ नै ‘मै हुँ’ भन्ने आउँछ नै बल सकिएपछि केही रहेनछु भन्ने नै हो उनी भन्छन् । “छोरा मान्छेमा बल रहुन्जेल छोरी मान्छेमा रूप रहुन्जेल के न गरुँला नै भनिन्छ तर सबै आफंै झरेर जाँदो रहेछ भनिन्छ नि हात्ती आयो हात्ती गयो फुस्सा यस्तै हो जिन्दगी” खतिवडाले भने ।
तपाइको विचारमा अबका नानीहरूलाई के शिक्षा दिने त ? उनी भन्छन्– शिक्षालाई पेशासँग जोडिनु पर्छ । समयअनुसार पेशाहरू बदलिन्छन्, बदलिँदो परिवेशलाइ शिक्षाले समेट्नु पर्छ उनको धारणा छ । “शिक्षा परिचय र पहिचान पनि हो, हाम्रो पहिचान, हाम्रो इतिहाँस संस्कृतमै छ । त्यसैले आज लुप्त हुदैं गएको संस्कृत शिक्षाको मुलप्रवाहीकरणमा हामी चुक्नु हुन्न” खतिवडाले भने ।
खतिवडा दम्पत्तिले आफ्नो सम्पूर्ण उमेर गुरूकुल शिक्षाको इतिहाससँग जोडिएको छ । प्रारम्भिक शिक्षादेखि लिएर बाढी पहिरोको विपत्तिसम्मका चुनौतीहरु पार गर्दै गुरूकुललाई निरन्तरता दिँदै, साधुटारलाई गुरूकुलका लागि एक सफल केन्द्र बनाएका छन् । जहाँ पूर्वी पहाडका जिल्ला र भारतका नजिकका क्षेत्रका विद्यार्थीले लाभ उठाएका छन् ।