Media Network

प्रजातन्त्रका लागि प्राण आहुती दिने सहिदको कथा


खबरस्टोरी संवाददाता

११ माघ २०७८,मंगलवार

काठमाडौँ। नेपालमा हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म सहिद सप्ताह मनाउने गरिन्छ । प्रजातन्त्रका लागि आफ्नो प्राण आहुती दिने वीर सहिद प्रति श्रद्धा सुमन व्यक्त गर्दै  सप्ताहको अन्तिम दिन माघ १६ गते विशेष रुपमा सहिद दिवस मनाउने गरिन्छ। अमर सहिदहरुप्रति सम्मान गर्ने यो प्रशंसनीय काम पनि हो । नेपालका पहिलो सहिद लखन थापालाई मानिन्छ। त्यसयता सरकारले विसं १९९७ मा प्रजातन्त्रका लागि प्राण आहुति दिने चार सहिद–शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई सहिद घोषणा गरी विभिन्न कार्यक्रममार्फत प्रत्येक वर्ष सम्झिने गरेको छ।


दशरथ चन्द (१९६०- १९९७)

पिता शेरबहादुर चन्द र आमा ओजकुमारी चन्दको कोखबाट दशरथ चन्दको जन्म वि.सं. १९६० असारमा बैतडी जिल्लाको बस्कोटमा माहिला छोराका रूपमा भएको थियो। शहीद माइला भन्नाले दशरथ चन्दलाई बुझिन्छ। राणाशासनका विरोधीहरूमा सबैभन्दा सशक्त व्यक्तित्व स्व. चन्दले मानविकी तथा समाजशास्त्र विषयमा बनारसबाट प्रमाणपत्र तह उत्तीर्ण गरेका थिए। त्यसअघि उनले नेपालगञ्ज, अल्मोडा, कुमाउ, नैनीताल जस्ता ठाउँमा अध्ययन गरिसकेका थिए ।

त्यहीबेला उनि काशी नागरिक प्रचारिणी सभामा रहेर राजनीति गर्न थाले। महात्मा गान्धीले भारतमा प्रारम्भ गरेको सत्याग्रहमा उनले सक्रियरूपमा भाग लिएका थिए । वि.सं. १९९० साल बारा जिल्लाको मौवादहमा टंकप्रसाद आचार्यसँग उनको पहिलो पटक भेट भयो। वि.सं. १९९१मा उनि सहयोगी शिवदत्त भट्टका साथ बर्मा पुगे। त्यसपछि थाइल्याण्ड पुगेर नेपालमा सशस्त्र क्रान्ति गर्ने योजना बनाए । उनि नेपाल प्रजापरिषद्को कार्यकर्ता थिए । उनि  सेवासिंह भन्ने छद्मनामबाट राणा विरोधी लेख छाप्थे । दशरथ चन्द र गङ्गालाल श्रेष्ठ एउटै जेलको कोठामा परेका थिए। तत्कालीन राणा सरकारले वि.सं. १९९७ माघ १५ गते दशरथ चन्दलाई शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दियो।  


शुक्रराज जोशी (शास्त्री) (१९५०-१९९७)

शुक्रराज जोशीको जन्म वि.सं. १९५० सालमा काठमाडौंको बांगेमुडामा भएको थियो । उच्च श्रेणीमा संस्कृत साहित्यमा शास्त्री उतीर्ण गरेकाले उनलाई पछि शास्त्री भन्न थालिएको हो । आर्य समाजका एक सक्रिय सदस्य शुक्रराजको विवाह अर्का सहिद धर्मभक्त माथेमाकी बहिनीसँग भएको थियो । उनि नेपालभाषाका प्रमुख साहित्यकार थिए । उनका विभिन्न भाषामा पुस्तकहरु समेत प्रकाशित छन् ।

भारतको पञ्जाब विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातक गरेपछि शुक्रराज नेपाल फर्किएका थिए । काठमाडौँ आएपछि उनको सम्पर्क क्रान्तिकारीहरूसँग भयो । १९९३ सालदेखि उनि राणा शासन विरोधी अभियानमा लागे । महात्मा गान्धीसँग भेटेको आरोपमा उनलाई राणा सरकारले नजरबन्द समेत गरेको थियो ।१९९५ माघ १३ गते काठमाडौँको इन्द्रचोकमा राणा शासनको विरुद्ध आयोजित आमसभामा उनले सम्बोधन गरेका थिए। लगत्तै राजद्रोहको अभियोग लगाएर उनलाई पक्राउ गरियो र तीन वर्ष कैद सुनाइयो । आठवटा झुटा मुद्दामा लगाएर राणा शासनले सर्वस्वहरणसहित उनलाई फाँसीको सजाय सुनायो र १९९७ साल माघ १० गते राती टेकुमा झुण्ड्याएर हत्या गरियो ।


धर्मभक्त माथेमा (१९६६-१९९७)

१९६६ असोज ९ गते काठमाडौँको ओमबहालमा जन्मेका धर्मभक्तले भारतको दार्जलिङबाट शिक्षा आर्जन गरेका थिए । धर्मभक्त माथेमाका पिता आदिभक्त माथेमा राणा शासनमा सुब्बा तहको सरकारी कर्मचारी थिए ।

धर्मभक्त माथेमा नेपालको राजनीतिक आन्दोलनको नेतामात्र नभएर देशको एक उत्कृष्ट खेलाडी समेत थिए । अध्ययन र राजनीतिसँगै उनले आफ्नो खेल क्षेत्रलाई पनि सँगसँगै अगाडी बढाए । माथेमा नेपालको पहिलो व्यवसायिक शारीरिक सुगठक (प्रोफेसनल बडी बिल्डर) समेत थिए । उनले नेपालमा पहिलो पटक आधुनिक शारीरिक सुगठन प्रविधि भित्र्याएका थिए  ।

माथेमा कलकत्तामा पढ्दा जिमखाना भर्ना भएका थिए । कलकत्तामा आयोजना हुने विभिन्न शारीरिक सुगठन प्रतियोगितामा जित हाँसिल गरेर उनि बंगाल च्याम्पियन समेत बनेका थिए । उनले काठमाडौं फर्केर ओमबहालमा रहेको आफ्नै घरमा जिमखाना स्थापना गरे । उनको जिमखानामा धेरै युवा जिम गर्न आउँथे । उनको जिमखान यतिसम्म चर्चित थियो कि राणा परिवारका सदस्य र प्रहरीहरु समेत जिमका लागि आउँथे । एकपटक घोडेजात्राको अवसरमा काठमाडौंको टुँडिखेलमा उनको शारीरिक तन्दुरुस्ती र व्यायामको प्रदर्शनीबाट राजा त्रिभुवन निकै प्रभावित भए । पछि त्रिभुवनले उनलाई आफ्नो व्यायाम प्रशिक्षकमा नियुक्त समेत गरे ।

राणा शासनको आतंकबाट जनतालाई मुक्त गर्न धर्मभक्तले विक्रम सम्बत १९९३ मा आफ्नै घरमा नेपाल प्रजा परिषदको स्थापना गरे । राजा त्रिभूवनको उपस्थितिमा काठमाडौंको लैनचौरमा प्रजा परिषदको गोप्य बैठक बसिरहेका बेला उनि लगायत धैरैजनालाई पक्राउ गरियो । उनलाई राणाहरुले १९९७ माघ १३ गते सिफलमा बकैनाको रुखमा झुन्ड्याएर हत्या गरेका थिए ।


गंगालाल श्रेष्ठ (१९७५- १९९७)

स्व. भक्तलाल श्रेष्ठ र माता तुलसीमाया श्रेष्ठका छोरा गङ्गालालको जन्म वि.सं. १९७५ सालमा रामेछाप जिल्लाको भँगेरी गाउँमा भएको थियो। आफ्ना काकासँगै भारतको कोलकातामा बसी २-३ वर्ष पढेपछि उनि काठमाडौँ फर्किए।

वि.सं. १९९४मा उनले दरबार हाई स्कूलबाट पहिलो श्रेणीमा एस्.एल्.सी. उत्तीर्ण गरे र त्रि-चन्द्र कलेजमा आई.एस्सी.पढ्दै थिए। गङ्गालाल कलाकार तथा महावीर संस्थाका कार्यकर्ता थिए । महावीर संस्थामा राणाविरोधी प्रवचन र क्रियाकलापहरू हुन्थे। राणा सरकारले गङ्गालाललाई शुक्रराजको सभामा (वि.सं.१९९५ सालमा असन र इन्द्रचोकमा) त्यही सभामा भाषणा गरेबापत उनलाई पक्राउ समेत गरिएको थियो तर पछि उनि छुटे ।

दशरथ चन्दको संगतबाट प्रजापरिषदको सदस्यता लिई राणा शासन विरोधी गतिविधिमा सक्रिय भए  प्रजापरिषद्को गतिविधिमा लागे बापत १९९७ साल कात्तिक २ गते उनलाई पक्राउ गर्‍यो। उनलाई १९९७ साल माघ १५ गते दशरथ चन्दसँगै सेन्ट्रल जेलबाट घरछेउको बाटोबाटै लगी बिष्णुमतीको बगरमा रहेको शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइयो। 


 को  हुन् त वास्तविक सहिद ?

राणाहरूको जहानियाँ हुकुमी शासनविरुद्ध आवाज उठाउनेमध्ये चार जनालाई विसं १९९७ सालमा मृत्युदण्ड दिइयो । विसं २००७ को जनक्रान्तिले राणा शासन अन्त्य गरेपछि ती चार जना वीर सपुतहरूलाई ‘सहिद’का रूपमा सम्मान दिइयो । 

पञ्चायत कालमा थुप्रै नेपालीले राजाको अधिनायकवादी शासन विरुद्धको संघर्षमा प्राण आहुति दिए । तर, तिनलाई सहिद मानिएन । विसं २०६३ पछि भने सहिद शब्दलाई निकै सस्तो बनाइयो । माओवादी सशस्त्र विद्रोह र त्यसपछिका आन्दोलनमा मरेका, मारिएका सबैलाई सहिद भनियो । पञ्चायत व्यवस्थामा राजनीतिक स्वतन्त्रता थिएन । आआफ्नो सिद्धान्तअनुसारको राज्य स्थापनाका लागि त्यतिबेला प्रतिबन्धित वा भूमिगत रहेका राजनीतिक दलहरूले सशस्त्र र शान्तिपूर्ण दुवै प्रकारका आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा धेरै राजनीतिक कार्यकर्ता सरकारी सुरक्षाकर्मीका हातबाट मारिए । विसं २०४६ को जनआन्दोलनले राजाको अधिनायकवादी शासन अन्त्य गरेपछि पहिलेको आन्दोलनमा मारिएका सबैलाई सहिद घोषणा भने गरिएन । कारण, उनीहरू  सर्वस्वीकार्य शाश्वत मान्यताभन्दा निश्चित राजनीतिक सिद्धान्तको विजयका लागि संघर्षरत थिए । राणा शासनको अन्त्यमा लागि जीवनको आहुति दिने सहिदहरू भने नेपाली सबैका साझा थिए ।  यसैले सहिदको साँच्चै नै सम्मान हुन्थ्यो र तिनका सामु सबै नतमस्तक हुन्थे । तर, २०६३ पछि घोषणा गरिएको सूचीमा भएका नामहरू भने साझा र सबैको सम्मानका पात्र हुनसकेको देखिँदैन ।

कुनै विश्वास वा सिद्धान्तका लागि जानीजानी जीवन सुम्पनेलाई सहिद भन्ने गरिन्छ । नेपालमा भने सहिद घोषणा गर्दा खासै मापदण्ड अपनाइएन । भिडमा रमिता हेर्दा प्रहरीको गोलीले मरेको मानिसलाई पनि सहिद घोषणा गरेर सरकारले क्षतिपूर्ति दिने गरेको देखिन्छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद