२३ मार्चको रात सेन्ट्रल जेलका वार्डेन चरत सिंह जेलमा आएर सबैलाई आफ्नो आफ्नो कोठामा जान निर्देशन दिए । तर उनले यसको कुनै कारण बताएनन् । उनले माथिको आदेश भएको मात्र जवाफ दिए ।
क्रान्तिकारी युवा भगत सिंहको जन्म २८ सेप्टेम्बर, १९०७ मा पञ्जाबको लायलपुर जिल्लाको बंगा गाउँ (हालको पाकिस्तान)मा भएको थियो । भारत स्वतन्त्रताको इतिहासमा श्वर्ण अक्षरले लेखिएका शहीद भगत सिंहलाई अंग्रेजले फाँसीमा चढाउँदै गर्दा उनले ‘इन्क्लाव जिन्दावाद’को नारा लगाएका थिए । उनी कुनै पनि बयानमा कोही कसैसँग पनि झुकेनन् ।
‘तपाई र तपाईँका साथीहरुले लाहोर षड्यन्त्र केसमा किन आफ्नो बचाउ नगरेको’ भनी पञ्जाव कांग्रेसका नेता भीमसेन सच्चरले सोध्दा भगत सिंहले क्रान्तिकारीहरुले मर्नुपर्ने सहज जवाफ दिएको विभिन्न दस्तावेजहरुमा उल्लेख छ ।
‘क्रान्तिकारीहरु मर्नु नै पर्छ, अदालतमा गरिने अपिलबाट होइन, उसको मृत्युबाट नै उसको अभियान सफल हुन्छ ।’– सच्चरलाई भगत सिंहले जवाफ फर्काएका थिए ।
‘कुनै त्यो दिन पनि आउने छ
कि जब हामी स्वतन्त्र हुनेछौं,
यो आफ्नै भूमि हुनेछ
यो मेरो आशा हुनेछ ।’
भारतीय स्वतन्त्रताको लडाईँमा श्वर्ण अक्षरले लेखिएका शहीद भगत सिंह, राजगुरु र सुखदेवले फाँसीमा चढ्नुअघि यसरी मुक्तिको गीत गाएका थिए ।
‘साइमन कमीशन’ विरुद्धको प्रदर्शन
सन् १९१९ देखि लागू भएको शासन सुधार अधिनियमहरूको छानबिनका लागि सन् १९२८ फेबु्रअरी, मा ‘साइमन कमीशन’ मुम्बई पुगेको थियो । साइमन कमीशन विरुद्ध देशभर विरोध भएको थियो । त्यसपछि अक्टोबर ३० मा साइमन कमिशन मुम्बईबाट लाहौर पुग्यो ।
साइमन कमिशनको विरोधमा लाला लाजपतरायको नेतृत्वमा एउटा जुलुस निस्कियो । शान्तिपूर्ण रुपमा भइरहेको प्रदर्शनमा सहभागीको संख्या बढ्दै गयो ।
सान्डर्सको नेतृत्वमा रहेको साइमन कमिशनले प्रदर्शनकारीहरूमाथि हस्तक्षेप गर्दै लाठी बर्साए । अंग्रेज सेनाको कुटाइबाट घाइते भएका लाला लाजपतरायको १७ नोभेम्बर, १९२८ मा मृत्यु भएपछि त्यसको प्रतिशोधमा क्रान्तिकारीहरुले सान्डर्सको हत्या गरेका थिए ।
जब संसदमा दुई कानून पास गर्ने तयारी भयो
अंग्रेज सरकारले दिल्ली सभामा सार्वजनिक सुरक्षा ब्यापार विवाद सम्बन्धि बिल पास गर्ने तयारी गरेको थियो । सरकारले क्रान्तिको बिउ निमोठ्न भन्दै दुई वटा कानून ल्याउने तयारी गरेपछि चन्द्रशेखर आजाद र उनका साथीहरू यसको विरुद्ध आन्दोलनको आह्वान गरे ।
उनीहरुले यसको विरोधमा संसदमा बम पड्काउने योजना बनाए । जसको जिम्मा जिम्मा भगत सिंह र बटुकेश्वर दत्तले लिए ।
८ अप्रिल, १९२९ का दिन दिल्लीसभामा उक्त कानून पास गरिए लगत्तै भगत सिंहले बम प्रहार गरे र त्यहाँ उपस्थित क्रान्तिकारीहरुले साम्राज्यवादविरोधी नारा लगाउन थाले ।
इन्कलाव जिन्दाबाद र साम्राज्यवाद मुर्दावादको नारा लेखिएका पर्चाहरु वितरण गरिए । त्यसपछि क्रान्तिकारहरुलाई धरपकड गर्ने काम शुरु भयो ।
भगत सिंह र बटुकेश्वर दत्तलाई जेलमा राखियो । फरार रहेका राजगुरुलाई पनि पुनाबाट पक्राउ गरिएको थियो । भगत सिंह जेलमा रहेकैबेला उनी र उनका साथीहरूमाथि लागेको ‘लाहोर षडयन्त्र’ सम्बन्धि मुद्दा चलाइयो ।
सन् १९३० अक्टोबर ७ तारिखका दिन अदालतले भारतीय दण्डसंहिता धारा १२९, ३०२ तथा विस्फोटक पदार्थ अधिनियमको धारा ४ तथा ६ एफ तथा भारतीय दण्डसंहिताको धारा १२० अन्तरगत अपराधी ठहर गर्दै भगत सिंह, सुखदेव र राजगुरुलाई मत्युदण्डको फैसला सुनाएको थियो ।
सोही फैसलाअनुसार २४ मार्चका दिन विहान ८ बजे मृत्युदण्डको दिन तोकिएको थियो । तर त्यसको अघिल्लो रात नै अंग्रेस शासकले तीनै जनालाई फाँसीमा झुण्ड्याएका थिए ।
फाँसीमा झुण्ड्याएर हत्या गरिएपछि शतलुजको किनारमा राती १० बजेको समयमा तीनै जनाको शवलाई जलाइएको थियो ।
भगत सिंह पुस्तक पढ्न सौखिन
भगत सिंह पुस्तक पढ्न निकै सौखिन थिए । उनी माक्र्स र लेनिनका पुस्तकदेखि क्रान्तिकारी पुस्तकहरु खोजी खोजी पढ्थे ।
उनले आफ्नो स्कुलको साथी जयदेव गुप्तालाई चिठी लेखेर माक्र्स र लेनिनका पुस्तकदेखि उपन्यास दी स्पाईसमेत मगाएको दस्तावेजहरुमा उल्लेख छ ।