वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा विप्लव नेकपाका नेता कार्यकर्ताहरु नै उत्साहका साथ भाग लिएका छन् । काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरसहित विभिन्न नगरपालिका र गाउँपालिकाको प्रमुख तथा अध्यक्ष उपाध्यक्षमा नै विप्लवका नेता कार्यकर्ताले भाग लिएका छन् ।
चार केन्द्रीय सदस्य निर्वाचनमा
निर्वाचन कायक्रम अनुसार वैशाख ११ र १२ गतेको देशैभरबाट ७ सय ५३ वटा पालिकामा उम्मेदवार मनोयन दर्ता भएको छ । उक्त मनोनयनमा विप्लवका केन्द्रीय नेताहरु नै निकै उत्साहका साथ सहभागी भए ।
नेकपा केन्द्रीय नेताहरु भेषराज भुसाल, धिरेन्द्र उपाध्याय ‘भृकुटी’, चुणामणि ओली ‘आदर्श’, एटम विसीले पालिका प्रमुखमै उम्मेदवारी दर्ता गराएका छन् ।
उनीहरुले पार्टीका कार्यकर्ताहरुलाई साथ लिएर उम्मेदवारी दर्ता गर्न पुगेका थिए । उम्मेदवार मनोयनन दर्ता गराएका उनीहरुले स्वतन्त्र उम्मेदवारी भने पनि एकीकृत जनक्रान्तिका नारा लेखिएका ब्यानरसहित प्रचारप्रसारमा छन् ।
प्रकाण्डले नै उम्मेदवार बनाए
स्थानीय तह निर्वाचनका विषयमा पार्टीभित्र विवाद चर्किँदा झण्डै दुई हप्ता कपिलवस्तुमा नेकपाको केन्द्रीय समिति बैठक चलेको थियो । पार्टी महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायतले नै निर्वाचनमा जानु पर्नेमा जोड दिए पनि बहुमतले उक्त प्रस्ताव अस्वीकृत गरेको थियो ।
निर्वाचनमा भाग लिने प्रस्ताव अस्वीकृत गरेपछि निर्वाचनमा पनि नजाने, जानेलाई पनि नरोक्ने दोभाषे निर्णय गर्यो ।
पार्टीको यस्तो निर्णयपछि नेता प्रकाण्डले आफ्नो गृह जिल्ला कालिकोटको दुई पालिकामा नै स्थानीय चुनावका लागि उम्मेदवार खडा गरेका छन् ।
स्थानीय चुनावपछि हुने संघको निर्वाचनमा आफ्नो लागि आधार खडा गर्न प्रकाण्डले नै स्थानीय चुनावमा उम्मेदवार खडा गरेको नेकपाका एक नेताले बताए । प्रकाण्डले आफू निर्वाचनमा उठ्ने हो भने कालीकोटबाट जित्ने दावी गर्दै आएका छन् ।
आफूले जित्ने आधार बनाउनका लागि प्रकाण्डले कालीकोटको रास्कोट नगरपालिका र नरहरीनाथ गाउँपालिकामा प्र्रमुख उपप्रमुख पदमै उम्मेदवार बनाएका छन् ।
बास्तोला प्रतिवादमा, उम्मेदवार फिर्ता लिन माग
पार्टी प्रवक्त प्रकाण्डले नै स्थानीय चुनाव उपयोगका लागि उम्मेदवार खडा गरिरहँदा नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ प्रतिवादमा उत्रिएका छन् ।
बास्तोलाले सोमवार नै विज्ञप्ति जारी गरी केन्द्रीय सदस्य र जिल्लाका पदाधिकारीलाई उम्मेदवार फिर्ता लिन आग्रह गरेका छन् । ‘पार्टी केन्द्रीय समितिको १२ औं बैठकको निर्णयअनुसार पार्टी दर्ता नगर्ने र चुनावमा भाग नलिने, देशभक्त, जनवादी, एमसीसीविरोधी उम्मेदवारहरुलाई समर्थन गर्न सकिने, पार्टीक सदस्यहरु उठ्न चाहेका अवस्थामा स्वतन्त्र हैसियतमा उठ्ने नीति पारित भए बमोजिम पार्टीले चुनाव उपयोग नगर्ने नीतिको तात्पर्य स्वभाविक रुपले न्यूनतम मूल्यमा केन्द्रीय समितिका सदस्य र जिल्लाका पदाधिकारी उम्मेदवारमा नउठ्ने मान्यताकाविपरित कतिपय कमरेडहरुले विभिन्न पदहरुमा मनोनयन दर्ता गरेका सामाचारहरु प्रकाशित भएकाले पार्टीको नीति अनुशरण गर्ने कमरेडहरुलाई नीतिविपरित देखिने उम्मेदवारीको मनोनयन फिर्ता लिनका लागि पार्टीको सचिवालय हार्दिक अपिल गर्दछ ।’– बास्तोलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
निर्वाचनमा स्वतन्त्र उठ्न छुट दिए पनि पार्टी जिम्मेवारीमा भएकाहरुले भाग नलिने निर्णय पछिल्लो केन्द्रीय समिति बैठकले गरेको नेकपा स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला कञ्चन बताउँछन् ।
कतै मनोनयन दर्ता, कतै भण्डाफोर
विप्लव समूहका केन्द्रीय नेताहरुले उत्साहका साथ मनोनयन दर्ता गराइरहँदा विप्लव समूहले कुनै ठाउँमा भने निर्वाचनको भण्डाफोर कार्यक्रम जारी राखेको थियो ।
रुकुम रोल्पामै पनि विप्लवले निर्वाचनमा भाग लिएको छ । तर सोमवार रुकुमको आठबिसकोटमा नेकपा कार्यकर्ताले ‘कथित निर्वाचन बहिष्कार गरौं’ भन्ने नारासहितको ब्यानर राखेर निर्वाचनको भण्डाफोर कार्यक्रम गरेका थिए ।
यो पनि पढ्नुस्
को को छन् उम्मेदवार ?
विप्लव नेकपाका चार केन्द्रीय सदस्यसहित दुई दर्जन बढीले स्थानीय तह निर्वाचनमा प्रमुख उपप्रमुख पदमै उम्मेदवारी दिएका छन् ।
काठमाडौं महानगरपालिकाका प्रमुखदेखि गाउँपालिकाका सदस्यसम्म नै नेकपा कार्यकर्ताले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।
काठमाडौं महानगरपालिकामा प्रमुख पदमा निमकान्त पाण्डे र उपप्रमुखमा उमा गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै केन्द्रीय नेताहरुमध्ये धीरेन्द्र उपाध्याय ‘भृकुटी’ले कालिकोटको रास्कोट नगरपालिका प्रमुख, एटम बीसीले कालीकोटकै नरहरीनाथ गाउँपालिका अध्यक्ष, भेषराज भुसालले कपिलवस्तुको शिवराज नगरपालिका प्रमुख तथा चुणामणि ओली ‘आदर्श’ले रोल्पाको गंगादेव गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
यस्तै, विप्लव समूहबाटै बिदुर नगरपालिका प्रमुखमा सन्तोष बोगटी तथा उपप्रमुख चन्द्रमाया कुमालले उम्मेदवारी दर्ता गराएका छन् भने रुपन्देहीको सैनामैना नगरपालिका प्रमुख तेजेन्द्र थापा, उपप्रमुख देवी भट्टराईको उम्मेदवारी दर्ता भएको छ ।
हेर्नुस्, धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को विज्ञप्ति