त्यतिबेलासम्म कटुवालको ‘भित्री मान्छे बोल्न खोज्छ’ कविता संग्रह प्रकाशित भइसकेको थियो । उनको सुधा खण्डकाव्य पनि प्रकाशित भएको थियो । सुधा खण्डकाव्यमा कविले शिलाङको सुनाकुरुङका प्रसिद्ध झरना–विडन र विशप फल्सहरूको प्राकृतिक सौन्दर्यको चर्चा गरेका छन् । त्यतिबेला हरिभक्त कटुवालकै सम्पादनमा असमेली १२ जना कविहरूको संयुक्त कविता संग्रह ‘पूर्व किरण’ पनि प्रकाशित भएको थियो । यसमा कृष्णप्रसाद ज्ञवाली, पुष्पलाल उपाध्याय, गोपीनारायण प्रधान, गजेन्द्र क्षेत्री, लक्ष्मीप्रसाद तिम्सिना, पद्मबहादुर थापा , जगतबहादुर प्रधान , हरिप्रसाद गोर्खा राई, हरिश पुरी, हरिभक्त कटुवाल, गुरुभक्त जैसी र बिरही सुब्बाका कविताहरू संग्रहित गरिएका छन् ।
मैले हरिभक्त कटुवालले डिग्बोईबाट मुक्ति प्रत्रिकाको सम्पादन गरेको कुरा पनि थाहा पाएको थिएँ । कुरा जे भए पनि त्यतिबेलासम्म मेरो हरिभक्त कटुवालसित कुनै व्यक्तिगत चिनाजानी वा भेटघाट भएको थिएन । सम्पर्क भएको थिएन ।
मलाई थाहा थियो, शिलाङमा कृष्णप्रसाद ज्ञवाली हरिभक्त कटुवालका खुब कुरा गर्दथे । त्यसरी नै प्रा गोपीनारायण प्रधान पनि हरिभक्त कटुवालका खुब कुरा गर्दथे । त्यतिबेला शिलाङका नेपाली साहित्यकारहरूकाबीचमा हरिभक्त कटुवाल एउटा चर्चित व्यक्तित्व बनिसकेका थिए । त्यसैले पनि हरिभक्त कटुवाल मेरो निम्ति अपरिचित व्यक्ति भएर पनि पुरै परिचित व्यक्ति जस्ता भएका थिए ।
नेपालमा लाग्नुभन्दा पहिले हरिभक्त कटुवाल आफूलाई प्रवासी भन्दथे । आफ्नो नामसित प्रवासी उपनाथ जोड्दथे । म शिलाङ छँदाछंँदै हरिभक्त कटुवाल नेपालमा प्रवेश गरेका थिए । नेपाल प्रवेश गर्नासाथ उनले आफ्नो नामसित जोडिएको उपनाथ प्रवासी हटाएका थिए । उनी हरिभक्त कटुवाल “प्रवासी ” बाट हरिभक्त कटुवाल भएका थिए ।
म सर्वप्रथम २०२७ सालको माघ महिनामा शिलाङबाट काठमाडौं आएको थिएँ । वास्तवमा म त्यतिबेला मेरा मित्र प्रेमलाल जैसी र दोस्रो विश्वयुद्धताक बर्माबाट भागाभागमा पर्दा हराएकी बयोबृद्ध आमा एकजना छोरासित नेपालको कलैयातिर छन् भन्ने खबर पाएर उनलाई सोध्दै खोज्दै भेट्न हिंडेकी उनकी सासुसित नै कलैया नजिककै एउटा गाउँ भएर माघे सक्रन्तिको दिनमा त्रिभुवन राजमार्ग हुँदै काठमाण्डौमा पुगेको थिएँ ।
काठमाडांैमा हामीहरू मारवाडी सेवा समितिमा बसेका थियौं । त्यतिबेला मैले प्रेमलाल जैसी र उनकी सासुसित विभिन्न ऐतिहासिक र धार्मिक स्थलहरूको अवलोकन गर्नाका साथसाथै केही प्रसिद्ध साहित्यकारहरूलाई भेट्ने काम जारी राखेको थिएँ । यसै अवसरमा मैले भवानी भिक्षु र बालकृष्ण समलाई उनीहरूकै निवासमा पुगी भेटेको थिएँ । बालकृष्ण समबाट मैले शिलाङबाट प्रकाशित हुने मादल पत्रिकाको लागि शुभकामना समेत लिएको थिएँ ।
त्यतिबेला हरिभक्त कटुवाल प्रज्ञा प्रतिष्ठानमा जागिरे थिए । मैले उनलाई अनिवार्यतः भेट्ने मनस्थिति बनाएको भए पनि केही ढिलो हुन पुगेको थियो । साँझतिर मारवाडी सेवा समितिले खबर गर्यो– तपाइँलाई फोन आएको छ । म दगुर्दै काउन्टरमा गएर फोन रिसिभ गरेंँ । फोन हरिभक्त कटुवालको थियो । उनले मलाई फोनमा सिधैँ भने– तैंले मलाई किन नभेटेको ? काठमाण्डौ आएर पनि तैंले मलाई नभेट्ने ?
मलाई हरिभक्त कटुवालले तँ भनेर सम्बोधन गर्दा निकै नराम्रो लाग्यो । तर पनि एकजना दाई जस्ता व्यक्तिले मलाई तँ भन्दा मैले त्यसलाई साह्रै आपत्तिजनक कुरो मानिनँ । मैले उनलाई स्पष्टीकरण दिन खोज्दै भने– मैले तपाइँलाई छिटै भेट्दै थिएँ । काठमाडांै आएर पनि मैले तपाइँलाई नभेट्ने भन्ने कुरै आउँदैन ।
हरिभक्त कटुवालले कडकेर भने– तैंले मलाई तपाइँ नभन् । तँ भनेर बोल । तँ बनेर कुराकानी गर ।
मैले भनेँ – मैले तपाइँलाई तँ भन्न सक्दिनँ । मलाई तँ भनेर कुराकानी गर्न आउँदैन । आफूले सम्मान गर्ने व्यक्तिलाई पनि कसरी मैले तँ भन्ने ? तँ भनेर बोलाउने ?
हरिभक्त कटुवालले मलाई फेरि कड्किदै भने– तैँले तँ भन्दैनस् भने म तँसित कुराकानी गर्न तयार छैन । तैले मलाई तँ नै भन्नु पर्दछ । तँ भनेर कुराकानी गर्नु पर्दछ । तँ भनेर कुराकानी गर ।
हरिभक्त कटुवालले मलाई पटक पटक उनलाई तँ भनेर बोल्न पर्दछ भनेको र तपाइं भन्दा मसित कुराकानी नै गर्न तयार नभएको हुनाले मैले वाध्य भएर उनलाई तँ भन्दै कुराकानी गर्नु पर्यो ।
मैले निकै अप्ठ्यारो मान्दै भनेँ–मैले तँलाई छिट्टै भेट्छु भनेको थिएँ । यताउता गर्दा गर्दै ढिलो भयो । तै पनि अब म छिट्टै तँलाई भेट्दै थिएँ ।
मैले हरिभक्त कटुवाललाई राम्ररी चिनेजानेको भए पनि उनले भने मलाई राम्ररी चिने जानेको थाहा थिएन । वास्तवमा मलाई त हरिभक्त कटुवालले चिन्दैन होला जस्तो नै लागेको थियो ।
यसैले नै मैले बडो उत्सुकता राख्दै भनें – तैँले मलाई चिन्छस् र ?
उनले बडो फुर्तीसाथ भने –तँलाई मैले चिन्दिनँ ? तैलेँ लोकरा ( असमको हाल शोणितपुर जिल्लामा पर्ने ठाउँ) बाट लेख्न थालेको होइनस् । तेरा लेख रचना मैले पढेको छैन भन्ने ठानेको छस् ।
एकछिन तँको शैलीमा एक अर्कासिति कुराकानी भएपछि हरिभक्त कटुृवालले मलाई भने –तैंले मलाई भोलि बिहानै साहित्य परिषद्को कार्यालयमा भेट् । म बिहानै त्यही तँलाई पर्खिरहेको हुन्छु ।
मैले उनीबाट विदा लिँदै भनेँ– हुन्छ मैले भोलि बिहान तँलाई त्यही ठाउँमा भेट्छु । तैंले बताएको ठाउँमा भेट्छु ।
भन्छन् रिसाएको बेलामा कसैले पनि बेद् पढ्दैन । निश्चित रुपमा रिसाएको बेलामा मैले आफूले मान्ने मान्छेलाई पनि तँ भनेर सम्बोधन गरेको हुँला । तर सामान्य अवस्थामा मैले कुनै पनि आफूलाई मान्ने मान्छेलाई तँ भनेर सम्बोधन गरेको छैन । आफूले मान्ने मान्छेलाई आजका मितिसम्म मैले तँ भनेको व्यक्ति हरिभक्त कटुवाल नै प्रथम र अन्तिम पनि हुन् । नाटकमा अभिनय गर्दा मैले आफूलाई मान्ने व्यक्तिलाई पनि सजिलै तँ भनेर सम्बोधन गर्न सक्दथें होला । तर मेरो र हरिभक्त कटुवालबीचको सम्बाद नाटकको संवाद थिएन । तसर पनि मैले स्वीकार गर्नै पर्दछ । हरिभक्त कटुवाल र मबीचको कुराकानी नाटकीय नभए पनि बडो नाटकीय नै हुन पुग्यो । बडो स्मरणीय हुन पुग्यो । यो थियो माघ ३ गते २०२७ सालको कुरा ।
भोलि बिहान म हरिभक्त कटुवालले बोलाएको ठाउँमा पुगें । साहित्य परिषद्को कार्यालयमा पुगें । मैले धेरथोर जाने बुझे अनुसार साहित्य परिषद् कृष्णचन्द प्रधानहरूले स्थापित गरेको साहित्यिक संस्था थियो । हरिभक्त कटुवाल पनि यस संस्थामा संलग्न थिए । यसले साहित्यिक पत्रिका पनि प्रकाशित गर्दथ्यो । जहाँसम्म मलाई सम्झना छ, यस संस्थाको कार्यालय हालको विशाल बजारको नजिकै थियो । हामी बसेको मारवाडी सेवा समितिकै नजिक थियो ।
मैले २०२७ साल माघ ४ गते बिहान पहिलो पल्ट हरिभक्त कटुवाललाई साहित्य परिषद्को कार्यालयमा भेट्दा उनी शान्त र गंभीर मुद्रामा थिए । उनको बोली बिनम्र र शिष्ट थियो । उनले मसित अत्यन्त शालिन तरिकाले कुराकानी गरे । उनले मलाई तँ भनेर होइन तपाईँ भनेर सम्वोधन गरे । मैले त झन् उनलाई तपाइँ भनेर सम्बोधन नगर्ने कुरै थिएन ।
मलाई लाग्यो हिजो राति मसित हरिभक्त कटुवाल होइन उनले पिएको रक्सी बोलिरहेको थियो । जाँड बोलिरहेको थियो । त्यस बिहान मैले उनलाई भेट्दा उनले पिएको शराबको नशा पुरै उत्रिसकेको हुनाले उनको बोलीमा आवेग थिएन । आवेश थिएन । आक्रोश थिएन । उनी त त्यतिबेला ठूलो तूफान पछि शान्त बनेको समुन्द्र जस्ता देखिन्थे । ठूलो सुनामीपछि शान्त बनेका सागर जस्तो देखिन्थे । निश्चित रुपमा कवि हरिभक्त कटुवालमा शिरदेखि पाउसम्म कवि व्यक्तित्व झल्किन्थ्यो ।
म त्यतिबेला शिलाङबाट नेपाली साहित्य परिषद्ले प्रकाशित गर्ने त्रैमासिक साहित्यिक पत्रिका मादलको सम्पादक थिएँ । प्रधान सम्पादक थिए प्रा गोपीनारायण प्रधान । मैले हरिभक्त कटुवाललाई मादलको लागि कुनै एउटा रचना उपलब्ध गराइदिन अनुरोध गरें । उनले मलाई तुरुन्त टेबुलमा बसेर न्युजप्रिन्टको एउटा सानो चिर्कटोमा मेरै सामुन्ने एउटा कविता लेखेर दिए । उनले लेखेको कविताको शिर्षक थियो ‘साथीलाई’ ।
कविता यस्तो थियो–
साथी !
म तिमीसंग हुँदा खोई मादल नै .घन्केन त्यहाँ
नत्र नाचिदिन्थें धक फुकाएर ,
ननाचेको त होइन बिना मादल पनि
तर ताल मिलाउन कहिल्यै सकिनँ
र आज त्यहाँ मादल घन्कंदै छ भन्ने सुन्दा
मलाई लाग्छ – म फेरि फर्कुं एक फन्को नाचिदिन ।
०२७–१०–४
हरिभक्त कटुवालले मेरै आँखाका अगाडि लेखेका यी सुन्दर हरफले उनको सम्पूर्ण जीवनको कथा बोले जस्तो लाग्यो मलाई । उनको इतिहास बोले जस्तो लाग्यो मलाई । वास्तवमा हरिभक्त कटुृवालको भावना चाहना आत्मा बिचार र दर्शन नै बोलेको जस्तो लाग्यो मलाई । हामीले यो कविता मादलको पहिलो घन्काइ ( १९७१ ) मा प्रकाशित गरेका थियौं ।
यतिबेला हरिभक्त कटुवाल हामीबीच छैनन् । तर पनि उनले आफ्नै हातले मेरै आँखा अगाडि माघ ४ गते २०२७ सालमा सामन्य न्युज प्रिन्टको चिर्कटोमा लेखेको यो कविता अझसम्म मसित सुरक्षित छ । यस चिर्कटोले मलाई काठमाडांैमा हरिभक्त कटुवालसित भएको पहिलो भेटको सम्झना गराइरहन्छ ।
यस कविताको चर्चा मैले काठमाडांैबाट प्रकाशित हुने साप्ताहिक समाकालीनमा गरेको थिएँ । यस कविताको चर्चाले हरिभक्त कटुवालकी बहिनीलाई रुवाएछ । उनले यस कविताको हस्ताक्षर हेर्न खोजिछन् । चाहिछन् । यो कुरा त्यतिबेला गोरखापत्रमा काम गर्ने हरिभक्त कटुवालका बहिनी ज्याईं बलराम थापाले मलाई बताएका थिए । उनकै आग्रहमा मैले यस कविताको फोटोकपी काठमाडांैमा बलराम थापाको नाममा पठाइदिएको थिएँ ।
यस भेटपछि हरिभक्त कटुवालले मलाई प्रज्ञा प्रतिष्ठानमा बोलाएर धेरै नै प्रख्यात साहित्यकारहरूसित साक्षात्कार गराएका थिए । उनीहरूसित भेट गराएका थिए । परिचय गराएका थिए । उनले मलाई पहिलो पल्ट रत्नध्वज जोशी, माधवप्रसाद घिमिरे, केदारमान व्यथित, सूर्य बिक्रम ज्ञवाली, लैनसिंह बाङ्देल, जगदीश घिमिरे आदिसित भेट गराएका थिए, चिनाजानी गराएका थिए ।
हरिभक्त कटुवालले मलाई आभाका सम्पादकसित पनि भेट गराएका थिए । परिचित गराएका थिए । आभामा मैले काठमाण्डौमा लेखेका दुई कविता काठमाडांै र मंन्दिर बैशाख २०२८ सालमा प्रकाशित भएका थिए । यतिबेला मसित आभा पत्रिका पनि छैन । आभा पत्रिकामा प्रकाशित कविता पनि छैनन् ।
त्यस पछि त मेरो हरिभक्त कटुवालसित असममा पनि भेट भयो । शिलाङमा पनि भेट भयो । फेरि पनि मेरो हरिभक्त कटुवालसित काठमाण्डौमा भएको भेट धेरै महत्वपूर्ण रह्यो । धेरे उपलब्धिपूर्ण रह्यो ।
मलाई लाग्दछ हरिभक्त कटुवाललाई असमले चिनेन । मलाई लाग्दछ हरिभक्त कटुवाललाई नेपालले पनि चिनेन । सबभन्दा दुखलाग्दो कुरा त के भने हरिभक्त कटुवाललाई हरिभक्त कटुवाले नै चिनेनन् । यसैले हामी सबैले हरिभक्त कटुवाललाई समयभन्दा पहिले नै गुमायौं ।
नेपाली साहित्य विशेषतः नेपाली साहित्यको काव्य र गीत संगीत क्षेत्रको एकजना अत्यन्त प्रतिभाशाली व्यक्तित्वलाई गुमायौं । एकजना अत्यन्त सृजनशील व्यक्तित्वलाई गुमायौं । एकजना अत्यन्त उर्जावान् व्यक्तित्वलाई गुमायौं । उनीबाट हामीले आज जे प्राप्त गर्न सक्दथ्यौं त्यो प्राप्त गर्न सकेनौं । तर पनि हरिभक्त कटुवालले हामीलाई थोरै समयमा धैरै कुरा दिएर गएका छन् । उनी यतिबेला हामीबीच नभए पनि आफ्ना अमर कृतिहरूमा सधैं बाँचिरहने छन् । मुख्यत उनका कालजयी कविता र मुटु छुने गीतहरूमा बाँचिरहने छन् ।