Media Network

सिसडोलमा १७ वर्षदेखि काठमाडौंको अत्याचार


खबरस्टोरी संवाददाता

२८ जेष्ठ २०७९,शनिबार

काठमाडौँ । काठमाडौं जनसंख्याका हिसाबले महानगर भए पनि पूर्वाधारका हिसाबले विकट छ । फरक के हो भने भौगोलिक रूपमा विकट गाउँमा हरिया पहाड हुन्छन्, काठमाडौंमा फोहोरको पहाड । उपत्यकाबाट हेर्दा सिसडोल वा बन्चरेडाँडाका बासिन्दाले असहयोग गरेको देखिन्छ, त्यहीं उभिएर हेर्दा राजधानीमा बसेको सरकारले अत्याचार गरेको देखिन्छ ।

खासमा फोहोर व्यवस्थापन गर्ने प्रक्रिया कसरी फोहोर भयो ? यसका लागि इतिहासदेखि वर्तमानसम्म मात्र होइन, राजधानीका घरघरका भान्सादेखि बन्चरेडाँडासम्मको यात्रा गर्नुपर्छ ।

काठमाडौं उपत्यकाका घरघरबाट दिनमा १२ सय टन फोहोर निस्कन्छ, टिपर ठूला र साना हुन्छन्, फोहोर पनि हिउँदमा हलुका र बर्खामा गह्रौं हुन्छ । त्यसैले औसतमा एउटा टिपरले साढे आठ टन फोहोर बोक्छ अर्थात् दैनिक औसत १ सय ५० टिपर फोहोर विसर्जन गर्नुपर्छ । त्यसमध्ये करिब आधा अर्थात् ५ सय ४५ टन फोहोर काठमाडौं महानगरको मात्र हो ।

काठमाडौंका १०, ललितपुरका तीन र भक्तपुरका तीन नगरपालिकाको फोहोर पनि यहीं मिसाइन्छ । भक्तपुर नगरपालिकाले फोहोर आफैं व्यवस्थापन गर्छ तर काभ्रेको बनेपा नगरपालिकाको फोहोर भने यतै ल्याइन्छ ।

काठमाडौंको वडा नम्बर १२, १८, १९, २०, २१, २३, २४ र २५ मा मात्रै महानगरपालिकाले उठाउँछ । वडा नम्बरहरू १, २, ३, ४, ७, ८, १३, १४, १५, २८, २९, ३० र ३१ को फोहोर निजी क्षेत्रले उठाउँछ । बाँकी वडामा महानगर र निजी क्षेत्र मिलेर उठाउँछन् । महानगरपालिकाले फोहोर उठाएको शुल्क लिँदैन, निजी कम्पनीहरूले भने पैसा लिन्छन् । परिवारले तीन/चार सय र अस्पताल तथा मलजस्ता संस्थाले ४० हजारसम्म रुपैयाँ तिर्छन् ।

फोहोरमैला तथा सरसफाइ व्यवसायी संघका महासचिव मित्रप्रसाद घिमिरेका अनुसार अहिले काठमाडौंमा ३२ निजी कम्पनीले फोहोर उठाइरहेका छन् । 

सामान्यतः साना–साना गाडीबाट जम्मा गरेको फोहोर ‘ट्रान्सफर स्टेसन’ मा खन्याएर ठूला गाडीमा सार्ने हो । त्यसअघि फोहोरलाई वर्गीकरण गर्ने र कुहिने फोहोरलाई कम्पोस्टिङ गरी मल बनाइन्छ । तर काठमाडौं महानगरको बिजोग छ । महानगरको स्वामित्वमा टेकुमा सुविधा सम्पन्न ट्रान्सफर स्टेसन त छ तर फोहोरलाई ‘सर्टिङ’ नगरी सिधै पठाइन्छ । ‘यसअघि कुहिने फोहोरलाई कम्पोस्टिङ गर्ने, रिसाइक्लिङ पनि गरिन्थ्यो तर अहिले यो प्रक्रिया बन्द भएको छ,’ नगर प्रहरीका डीएसपी पूर्णचन्द्र भट्ट भन्छन् ।

फोहोरमैला व्यवस्थापनमा विद्यावारिधि गरेकी अल्का सापकोटा भन्छिन्, ‘ट्रान्सफर स्टेसनलाई रिकभरी सेन्टर बनाउने हो । सकेसम्म कमभन्दा कम फोहोर ल्यान्डफिलमा जाओस् भन्ने हुन्छ । सबै कुराको लागत घटाउन सकियोस् भनेर यसको स्थापना गरिएको हुन्छ ।’ तर महानगरले यो स्टेसनको सदुपयोग गरेको छैन ।

ओखरपौवाको सिसडोल काठमाडौंबाट २७ किलोमिटर टाढा छ । फोहोर बोकेका टिपर काभ्रेको बनेपादेखि काठमाडौंको बालाजुबाट मुड्खु, ओशो तपोवन, नुवाकोटको तीनपिप्ले, कागते गाउँ, महालक्ष्मीथान, रातमाटे हुँदै कोल्पुबाट सिसडोल पुग्दै आए । 

सम्झौता दुई वर्षका लागि भनिएको थियो किनकि यो अवधिभित्र थप तीन किलोमिटर पर बन्चरेडाँडामा सेनिटरी ल्यान्डफिल साइट बनाउने सरकारको योजना थियो । तर, सम्झौता भएको १७ वर्षसम्म सिसडोलमा नै काठमाडौं उपत्यकाको फोहोर विसर्जन भइरह्यो । सेनिटरी ल्यान्डफिल साइट भनेको फोहोरलाई वैज्ञानिक व्यवस्थापन गर्ने ठाउँ हो । तर, महानगरले घरदेखि अस्पतालबाट निस्किने सबै फोहोरलाई विसर्जन मात्र गर्दै आयो ।

तर, सडक पूर्वाधार नभएकाले अस्थायी रूपमा ओखरपौवास्थित सेनिटरी ल्यान्डफिल साइट सिसडोलमा विसर्जन गर्ने सहमति ०६२ सालमा भएको थियो । दुई वर्षका लागि भनेर छनोट गरिएको क्षेत्रमा १७ वर्षसम्म फोहोर विसर्जन गरियो, आजको कान्तिपुर दैनिकले खबर छापेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद