Media Network

गगन थापाको भाइरल भिडियोको वास्तविकता


खबरस्टोरी संवाददाता

२२ फाल्गुन २०७८,आईतवार

काठमाडौं । ‘मलाई प्रधानमन्त्री बनाइदिनुस्, कस्तो निर्णय गर्दिन्छु भने साठी वर्ष नाघेका सबै मानिसलाई घरमा बसिबसि महिनाको ३० हजार रुपैयाँ, १८ वर्ष पुगेका सबै मान्छेलाई एउटा एउटा मोबाइल फ्री, त्यसमा कुन आइफोन चलाउने कि सामसुङ चलाउने कि खोजी खोजी । मोटरसाइकल चढ्ने मान्छेलाई वर्षको सय लिटर तेल फ्री ।’ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बोलेको भिडियो फुटेज यतिबेला सामाजिक सञ्जालहरुमा निकै चर्चामा रहेको छ । 

कांग्रेस महामन्त्री थापाले शुक्रबार कास्कीको मादी गाउँपालिकाको आयोजनामा पोखरामा भएको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोलेको मन्तब्यको सानो क्लिप हो यो । 

फागुन १५ गते संघीय संसदको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्दै गर्दा कांग्रेस महामन्त्री थापाले एमसीसीजस्तै गरी अरु देशसँग पनि अरु बढी सहयोग मागौं भनेर दिएको अभिब्यक्तिको पनि निकै आलोचना भइरहेको छ । 

‘अमेरिकाले ६० अर्ब दियो, बीआरआई अन्तर्गत ७० अर्ब देउ भनेर भनौं, अनि भारत जाउँ भारतलाई गएर भनौं, उसले ६० दियो, उसले ७० दियो भनेर ८० अर्ब मागौं । सबैको ल्याउँ र देश निर्माणमा लगाउँ ।’– थापाले संसदमा भनेका थिए । संसदमा बोलेको यो अभिब्यक्तिलाई लिएर थापाको देशब्यापी तथा सामाजिक सञ्जालहरुबाट विश्वब्यापी रुपमा आलोचना भइरहेको छ । 

कांग्रेसका युवा नेताको यस्तो भनाइ आएको भन्दै ‘मगन्ते’ का रुपमा उनको निकै आलोचना भइरहेको छ । यसैको प्रष्टोक्ति स्वरुप उनले कास्कीको मादी गाउँपालिकाको पार्टी प्रशिक्षणमा थप कुरा राख्दा त्यसलाई पनि समाजिक सञ्जालमा भाइरल बनाइएको छ ।  

आफ्नो आलोचना गर्नेलाई माले–मण्डलेको संज्ञा

विदेशीसँग हात थापेर मुलुक बनाउने अभिष्ट बोकेका थापाको भनाइको युवा पंक्तिहरुबाट बढी आलोचना भइरहेको छ । तर थापाले भने एमसीसी अनुदान र अन्य विदेशी सहयोगबिना मुलुक विकास सम्भव नभएको तर्क दिँदै हिँडेका छन् । 

थापाले विदेशीसँग हात थाप्ने कुरा गरेकोमा आलोचना गर्नेहरुलाई माले–मण्डलेको संज्ञा दिएका छन् । मादी गाउँपालिकाले पोखरामा गरेको प्रशिक्षण कार्यक्रममा आफ्नो धारणा राख्दै कांग्रेस महामन्त्री थापाले मुलुकलाई परनिर्भर बनाउने कुरामै थप जोड दिएका थिए । 

वि.सं. २०४६ सालको प्रजातन्त्रको पुनःस्थापनापछि बनेको कांग्रेस सरकारले खासगरी गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले जम्मा गरेको राजश्वबाट तत्कालिन मनमोहन अधिकारी नेतृत्वको सरकारले वृद्धभत्ता दिन थालेको थापाको भनाई थियो । 

उद्योगलाई निजीकरणमा जोड 

आसन्न स्थानीय तहको निर्वाचन केन्द्रित यो प्रशिक्षणमा थापाले निजीकरणलाई निकै जोड दिए । उनले उद्योग कलकारखाना सरकारले चलाउने नभई ब्यक्तिले चलाउनुपर्ने संसारभरका देशहरुको अनुभव भएको जिकिर गरे । उद्योगलाई निजीकरण गरिएपछि नेपालमा उत्पादित जुत्ता विदेशमा निर्यात भएकोसमेत थापाले दाबी गरेका थिए । 

आफू प्रधानमन्त्री भएपछि सबै कुरा निःशुल्क गर्दिन्छु भन्दा पनि नेपाली जनताले यी सबै कुरा निःशुल्क दिन पैसा कहाँबाट आउँछ भनेर नसोध्ने समस्याका रुपमा कांग्रेस महामन्त्री थापाले अथ्र्याएका थिए । 


कास्कीस्थित मादिगाउँपालिकामा  शुक्रबार नेपाली कांग्रेसको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा यसैसन्दर्भमा कांग्रेस महामन्त्री गगन थापाले बोलेको जस्ताको तस्तै (सम्पादन नगरिएको) अभिब्यक्ति पढ्नुहोस् ः 

एउटा मण्डले आउँछ ए, बाहिरको मागेर चल्छ भन्छ ? त्यो मण्डले जसले ३० वर्ष पञ्चायतको बेलामा त हाम्रो ऋण नै जम्मा टोटल इकोनोमीको ६० प्रतिशत त ऋण थियो । त्यसले पनि आएर गफ दिन्छ । एउटा मण्डले आउँछ, गफ दिन्छ, माले आउँछ गफ दिन्छ, कांग्रेसको मान्छे भागिहाल्छ । हो कि हो कि भन्ठान्छ । हेर्नुस् त, तपाईँले सम्झिनुस् त गाउँठाउँतिर जान्छ चुनावमा के भन्छ ? अहिले पनि भन्छ । माले भए पनि मण्डले भए पनि मञ्चमा उभिएर के भन्छ भने यो उद्योग बेच्ने कांग्रेस भन्छ । तपाईँले कागज कारखाना बेच्नु भयो, चुरोट कारखाना बेच्नु भयो । जुत्ता कारखाना बेच्नुभयो भन्छ । कांग्रेसका मान्छे यसो भुइँतिर हेरेर होइन, माथितिर हेर्छ र अल्मलिन्छ । उभिएर के भन्दैन भने २०४६ सालको परिवर्तन पछाडि ०४८ सालमा गिरिजाप्रसाद कोइरालाको सरकार बन्दै गर्दा त्यो भन्दा अगाडि एक वर्षमा कृष्णप्रसाद भट्टराईले संविधान बनाएर, चुनाव गराएर, ०४८ मा गिरिजाप्रसाद कोइरालाको सरकार बन्दै गर्दा नेपालको राजश्वको ढुुकुटी खुत्रुकेमा जम्मा पैसा १२ अर्ब मात्रै जम्मा हुन्थ्यो । त्यो १२ अर्बमा पनि एक अर्ब रुपैयाँ त सरकारले चलाएको उद्योगको घाटालाई मात्रै एक अर्ब रुपैयाँ तिर्नुपर्दथ्यो । त्यो बाँसबारीको घाटा तिर्नुपथ्र्यो । त्यो भृकुटीको घाटा तिर्नु पथ्र्यो । चुरोटको घाटा तिर्नुपथ्र्यो । र, संसारभरीका देशहरुले के अनुभव गरेको थियो भने,

विद्यालय सरकारले चलाउने हो रहेछ, अस्पताल सरकारले चलाउने हो रहेछ । उद्योग सरकारले चलाउने होइन । उद्योग त ब्यक्तिले चलाउने रहेछ । सरकारले त बाटो पो देखाइदिनुपर्ने रहेछ भन्ने कुराको अनुभवका आधारमा हामीले उद्योगलाई निजीकरणमा लग्यौं ।

अहिले नेपालमा खुलेको जुत्ता उद्योगले वर्षमा पूरै उद्योग सञ्चालन भयो भने त्यसले १७ करोड जोर जुत्ता उत्पादन गर्न सक्छ । नेपालीले वर्षमा ९ करोड जोर जुत्ता लगाउँछ । तर, दुर्भाग्य ३ करोड मात्रै उत्पादन भइरहेको छ । ६ करोड अहिले पनि हामी बाहिरबाट किनेर चाइनिज, इण्डियन, जापानिज, जुत्ताहरु ल्याएर हामीले अहिले लगाइरहेका छौं । अलिकति नीति ठीक बनायो भने प्रत्येक नेपालीले लगाउने जुत्ता भन्दा दोब्बर जुत्ता उत्पादन गर्न सक्ने क्षमता नेपालका जुत्ता उद्योगहरुसँग भइसक्यो ।

बाँसबारी छालाजुत्ता कारखाना हटाएर त्यसको ठाउँमा गंगालाल अस्पताल निर्माणपछि सुरु भएको हो ।

१७ करोड जोर जुत्ता उत्पादन गर्ने क्षमता भएको देश भइसक्यो । ३ करोड त जुत्ता उत्पादन भइरहेको छ । जुत्ता उद्योगले हजारौंलाई रोजगारी दिएको छ । नेपालमा यस्तो जुत्ता उत्पादन भएको त्यो विदेशमा पनि बेच्छ । नेपालको गोल्डस्टार लगायतका कति कम्पनीले अहिले पनि जुत्ता बाहिर बेच्छ ।

तर, त्यही जुत्ताको नामका कांग्रेसले गाली खान्छ । बाँसबारी बेच्ने भन्छ, कांग्रेस भागिहाल्छ । तपाईँले लगाएको जुत्ता कहाँ बनेको हो ? भन्न सक्दैन ।

कांग्रेसले कुनै पनि माले, मण्डलेलाई तिमिहरुको पनि सरकार आयो नि त, तिम्रो बाले पनि सरकार चलाए, साँच्चिकै उद्योग बेच्न गलत भएको भए, तिम्रो बाले सरकार चलाउँदै गर्दा किन चुरोट उद्योग नखोलेको ? जुत्ताको उद्योग तिमिले पनि खोलेको भए हुन्थ्यो । कांग्रेसले त बेचेर खायो ल, बाले किन नबनाएको त ? जुत्ता उद्योग, रक्सि उद्योग, सिमेन्ट उद्योग किन नखोलेको भन्न सक्दैन । किनभने उनलाई थाहा छ, सिंहदरबारको खुत्रुके त तिनले पनि हेरेका छन् ।

उद्योग चलाएर हुँदैन भन्ने कुरा त उनलाई पनि थाहा छ तर भन्न छाड्दैन । गाली गरिहाल्छ, भागाभाग भइहाल्छौं ।

जेष्ठ नागरिकको भत्ता अहिले पनि म देशभरी घुम्छु । 

१२ अर्ब रुपैयाँको राजश्व गिरिजाप्रसाद कोइरालाको पालामा । गिरिजाप्रसादले छोड्ने बेलामा मनमोहन अधिकारीले सरकार चलाउन पाएका बेलामा तीन वर्षमा सिंहदरबारको खुत्रुकेको पैसा बढाएर ३ गुणाले बढाएर ३६ अर्ब पुर्यायो ।

३६ अर्ब पर्याएको बेलामा जब खुत्रुकेमा पैसा भयो । अलिकति चल्मलाउन पाउने अवस्था भयो । अनि, बा आमालाई सय रुपैयाँ दिने कुराको शुरुवात भयो । त्यो, बढ्दैछ, बढ्दैछ भएर गयो ।

कमाउने धन्दा बन्द भयो भने दिने धन्दा पनि बन्द हुन्छ ।

कमाउने धन्दा भयो भने दिने धन्दा चल्छ । दिने कुराको निर्णय गर्न सबैभन्दा सजिलो हुन्छ ।  

मलाई प्रधानमन्त्री बनाइदिनुस्, कस्तो निर्णय गर्दिन्छु भने साठी वर्ष नाघेका सबै मानिसलाई घरमा बसिबसि महिनाको ३० हजार रुपैयाँ, सबैलाई । १८ वर्ष पुगेका सबै मान्छेलाई एउटा एउटा मोबाइल फ्रि, त्यसमा कुन आइफोन चलाउने कि सामसुङ चलाउने कि खोजी खोजी । मोटरसाइकल चढ्ने मान्छेलाई वर्षको सय लिटर तेल फ्रि ।

म जत्तिको लोकप्रिय प्रधानमन्त्री कोही हुन्छ ? सबैलाई दिइदिन्छु म । सबै कुरा फ्रि । ताली पनि आउँछ, वाही वाही हुन्छ । किनकी मलाई कसैले त्यो प्रश्न सोध्दैन कि निःशुल्क दिन चाँही ढुकुटीमा पैसा कहाँबाट आउँछ ? कसैले सोध्दैन ।

म मञ्चमा जान्छु, जब जेष्ठ नागरिकको भत्ताको कुरा हुन्छ, यो वर्ष हाम्रो पार्टी सरकारमा आयो भने जेष्ठ नागरिकको भत्ता बढाएर १० हजार पुर्याइनेछ भनेर भन्यो भने सबैभन्दा पहिला ताली कसले बजाउँछ भने त्यो तरुणले बजाउँछ । क्या खुसी हुन्छ भने वा वा भन्छ, उसले अत्तोपत्तै पाउँदैन । त्यो कतार जान छोड्यो भने, मलेसिया जान छोड्यो भने ऊ कतार र मलेशिया पठाउँछ, कतार र मलेशिया पठाएबाट उसले कमाएको पैसाको ढाड थापेर सरकार आएको पैसाको ढुकुटीले चलाउने हो ।

तरुणले त तिम्रो सरकारले नेपालमा कति रोजगारी सिर्जना गर्छ भनेर प्रश्न गर्नुपर्ने हो । यो वर्ष मेरो भाइ कतारबाट फर्किएर रोजगार पाउँछ कि पाउँदैन ? मेरो बहिनी इजारायलको हाउस किपिङको कामबाट फर्किएर आउँछ, महिनाको नेपालको ४० हजार ५० हजारको नर्सिङको जागिर खान पाउँछ कि पाउँदैन ?

तर सोध्नुपर्ने सोध्दै सोध्दैन । ताली बजाएर बस्छ । किनकी उत्तेजनाको राजनीति छ, उत्तेजनाको राजनीति गर्न बडो सजिलो छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद