काठमाडौं । कम्बोडियाका पूर्व राजा नरोद्दम सिंहानुकको नौ वर्षअघि निधन भइसकेको छ । ८९ वर्षका उमेरमा वि.सं. २०६९ असोज २९ गते बेइजिङस्थित अस्पतालमा मृत्युवरण गरेका सिंहानुककोबारेमा भने नेपालमा बेलाबेलामा चर्चा भइरहन्छ । कारण, उनी कम्बोडियाका राजा थिए, अपदस्त गरिए, श्रीपेचबिना जनतासँग आन्दोलनमा समाहित भए, र, पुनः जनताले सत्तारोहण गराएका थिए ।
खासगरी, नेपालमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेताहरुले बेलाबेलाका नेपालबाट अन्त्य भइसकेको राजतन्त्र र पूर्वराजाकोबारेमा कम्बोडियाका पूर्वराजा सिंहानुकको उदाहरण दिने गरेका छन् ।
फ्रान्सको उपनिवेश कसरी भयो मुक्त ?
कम्बोडिया ८ दशकभन्दा बढी समय फ्रान्सको उपनिवेशका रुपमा रहेको थियो । लामो समयसम्म फ्रान्सको उपनिवेश बनेको कम्बोडिया कब्बोडियाली नागरिकको संघर्षपछि सन् १९५३ मा स्वतन्त्र भएको थियो ।
फ्रान्सेली उपनिवेश रहेकैबेला पनि सिंहानुक कम्बोडियाका राजा थिए । सिंहानुक सन् १९४१ देखि १९५५ पहिलोपटक राजा थिए । सिंहानुककै नेतृत्वमा चलेको राष्ट्रवादी आन्दोलनले नै कब्बोडियालाई फ्रान्सबाट मुक्त गरायो ।
सिंहानुकले राजा भएकैबेला कम्युनिस्टहरुसँग मिलेर राष्ट्रवादी आन्दोलन चलाएकै कारण फ्रान्स आफूविरुद्ध आइलाग्ने देखेर सुरक्षाका कारण थाइल्यान्डमा निर्वासित जीवन बिताएका थिए । क्याम्बोडिया स्वतन्त्र भएपछि मात्रै उनी स्वदेश फर्किएका थिए ।
स्वदेश फर्किएपछि सन् १९५५ को संसदीय निर्वाचनमा सिंहानुकले भारी बहुमत ल्याई विजयी भए । र, प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले ।
प्रधानमन्त्रीकोसमेत जिम्मेवारी सम्हालेका उनी सन् १९६० मा भएको निर्वाचनबाट क्याम्बोडियाको राष्ट्रप्रमुख पदमा निर्वाचित भए ।
सत्ता आफ्नै हातमा आएपछि सन् १९६३ मा कम्बोडियाको संविधानलाई संशोधन गरी सिंहानुकले आफूलाई राष्ट्रप्रमुख घोषणा गरेका थिए । कम्बोडियालाई उपनिवेशबाट मुक्त गराएपछि सिंहानुक देशका सक्रिय राजा बनेका थिए ।
राष्ट्रप्रमुख पदमा निर्वाचित भएपछि सन् १९७० मा सिंहानुक विदेश भ्रमणमा रहेकाबेला प्रधानमन्त्री जनरल लोन नोलले सिंहानुकलाई अपदस्त गरिदिए ।
कम्बोडियाली प्रधानमन्त्री लोन नोलले शासन हत्याई आपतकालीन अधिकार आफ्नो हातमा लिएपछि सिंहानुकले नोलको शासन पतनका लागि पुनः चीन पुगेर क्याम्बोडियाको कम्युनिस्ट पार्टी (खमेर रुज)लाई सहयोग गरे ।
खमेर रुजसँग राजा सिंहानुक मिलेपछि उत्साहित क्याम्बोडियाले राज्यविरोधी विद्रोहमा सक्रिय सहभागिता जनाए । राजा सिंहानुकको सहयोगकै कारणले सन् १९७५ मा खमेर रुज सत्तामा पुगेको थियो । जतिबेला नयाँ सत्ताधारी खमेर रुजले सिंहानुकलाई कठपुतलीका रुपमा क्याम्बोडियाको आलंकारिक राष्ट्रप्रमुख बनाए ।
तत्पश्चात तत्कालिन कम्युनिस्ट नेता पोलपोटले मुलुकको मुख्य कार्यकारी अधिकार आफूले हातमा लिए । तर, सन् १९७६ मा खमेर रुजले सिंहानुकलाई अपदस्थ ग¥यो । त्यसपछि सिंहानुकले चीन र उत्तर कोरियामा शरण लिए । उनी केही वर्षदेखि चीनमा स्वनिर्वासनमा थिए ।
सन् १९७८ मा भियतनामले क्याम्बोडियामा आक्रमण गरी खमेर रुज शासन अन्त्य गरायो । तर, सन् १९८० र ९० को दशकमा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको नयाँ विदेश नीतिले क्याम्बोडियामा भियतनाम र सोभियत संघको प्रभाव कम गर्न चाहेको थियो । त्यसकै लागि अमेरिकाले सिंहानुक र उनको दस्तालाई आर्थिक तथा सैन्य सहयोग गरेको थियो ।
सन् १९९१ मा क्याम्बोडियाली राजनीतिका सरोकारवालाबीच बृहत् समझदारी बन्यो । उक्त वृहत्त समझदारीबाट १३ वर्षे निर्वासित जीवन बिताएका सिंहानुक स्वदेश फर्किएका थिए । र, सन् १९९३ मा सिंहानुक पुनः क्याम्बोडियाको राजा भए । उनी सन् १९९३ देखि २००४ सम्म गरी दुईपटक क्याम्बोडियाका राजा बनेका थिए ।
कम्बोडिया स्वतन्त्र भएको ४० वर्ष पछि सन् १९९३ मा नै संविधानसभाले संविधान जारी गरेको थियो । संविधानसभाबाट जारी भएको संविधानमा राजाले सन्यास लिएपछि या राजाको मृत्युपछि प्रधानमन्त्रीको अध्यक्षतामा रहने रोयल काउन्सिलले नयाँ राजाको चयन गर्ने नियम बनाइएको छ । नयाँ राजा राजपरिवारको सदस्य वा नातेदार हुन सक्ने संविधानमा व्यवस्था गरिएको छ ।
सिंहानुक राजा भएकैबेला सन् २००४ मा स्वनिर्वासनमा उत्तर कोरिया र त्यसपछि चीन पुगेका थिए । कमजोर स्वास्थ्य कारण देखाउँदै सिंहानुकले राजमुकुट त्यागेपछि उनका छोरा नरोद्दम सिंहामुनी कम्बोडियाका राजा बनेका थिए ।
कम्बोडिया र नेपालसँगको सम्बन्ध
नेपालको कम्बोडियासँग सन् १९६० को दशकदेखि नै दौत्य सम्वन्ध रहेको थियो । तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि मात्रै पहिलोपटक उच्चस्तरीय भ्रमण भएको थियो ।
ओलीको कम्बोडिया भ्रमणका अवसरमा दुई सम्झौता भएको थियो । व्यापार र लगानी सम्वन्धी फ्रेमवर्क एग्रिमेन्ट र दुई देशका चेम्बर अफ कमर्सबीच द्विपक्षीय साझेदारी सम्बन्धि एमओयू भएको थियो ।
त्यसअघि कम्बोडिया र नेपालबीच हवाई यातायात, कुटनीतिज्ञ र सरकारी राहदानी बाहकहरुलाई भिसा छुट तथा नेपालमा दूतावास खोल्नेसम्वन्धी एमओयू भएको थियो ।