काठमाडौं । मार्क्सवादी विचारलाई अंगाल्दै वि.सं. २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । पुष्पलाल श्रेष्ठको सक्रियतामा भारतको कलकत्तामा बसेर २००६ वैशाख १० गते नेकपा गठन गर्दा मोतिदवी श्रेष्ठ, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशी थिए ।
त्यतिबेला नेपालमा राजनीतिक दलहरु खोल्न प्रतिबन्ध लागेका कारण भारतमा रहेर पार्टी स्थापना गरिएको थियो । तर पार्टी स्थापना भएको ६ महिना पनि नबित्दै संस्थापक मध्ये तीनै पाँच जनाभित्रै मतैक्यता देखियो । जसले गर्दा पार्टी स्थापना भएको चार महिनापछि कम्युनिस्ट घोषणापत्रसँगै पार्टी सार्वजनिक गरिँदा पुष्पलाल समूहमा संस्थापक मध्येका अरु चार जना अटाएनन् ।
भारतीय कम्युनिस्ट पार्टीका प्रतिनिधि अयोध्या सिंहको उपस्थितिमा भारतमै बसेको बैठकले पुष्पलाल महासचिव रहेको नेकपा गठन गर्यो । उक्त पार्टी सार्वजनिक गरिँदा मनमोहन अधिकारी, तुलसीलाल अमात्य, शैलेन्द्रकुमार उपाध्याय र डीपी अधिकारी नेकपाको केन्द्रीय कमिटीमा थिए ।
..
मनमोहन अधिकारी नेकपाका संस्थापक मध्येका नरबहादुर कर्माचार्यमार्फत पुष्पलालको सम्पर्कमा आएका थिए । पार्टी स्थापना भएको चार वर्षपछि वि.सं. २०१० सालमा भारतमै भएको पहिलो महाधिवेशनबाट मनमोहन अधिकारी महासचिव भए । ०१४ सालमा दोस्रो महाधिवेशनबाट केशरजंग रायमाझी महासचिव भएपछि राजतन्त्रलाई हेर्ने सवालमा द्वन्द्व सुरु भयो । २०१७ साल पुस १ गते राजा महेन्द्रले शासन हातमा लिँदा रुस पुगेका रायमाझीले स्वागत गरे भने अन्य नेताहरुले विरोध जनाए ।
०२३ सालमा आइपुग्दा नेकपा नेताहरु छिन्नभिन्न अवस्थामा पुगे । मेची–कोशी प्रान्तीय कमिटी, को–अर्डिनेशन केन्द्रदेखि केन्द्रीय न्यूक्लियस गठन भए । ०२८ सालमा सीपी मैनालीको समूहले झापाबाट अर्को विद्रोह सुरु गर्यो । झापा विद्रोहपछि मैनाली समूहले त्यसैलाई अखिल को–अर्डिनेशन बनाएका थिए ।
मदन भण्डारी, बामदेव गौतमहरुले मुक्तिमोर्चा बनाए । मोहनविक्रम सिंह लगायतका नेताहरु नेकपा (चौथो महाधिवेशन) चौम गठन गरे । मदन भण्डारी समूहको मुक्तिमोर्चा र बामदेवको अखिल समूह मिलेर नेकपा माले बन्यो । मनमोहन अधिकारीले छुट्टै पार्टी बनाए । ०३५ सालमा पुष्पलालको निधनपछि पुष्पलाल नेतृत्वको पार्टी बलराम उपाध्याय र साहना प्रधानले सम्हालेका थिए । उपाध्याय र साहना रहेको पार्टी र अधिकारीको पार्टी मिलेर नेकपा (मार्क्सवादी) बन्यो ।
पुनः माले र माक्र्सवादी मिलेर बनेको नेकपा एमाले फेरि महाकाली सन्धिको विषयलाई लिएर बामदेवले २०५४ सालमा फुटाए । र, नेकपा माले बनाए । संसदीय निर्वाचनमा ३ प्रतिशत मतसमेत ल्याउन नसकेपछि उनले पुनः आफ्नो पार्टीलाई बिलय गराए ।
..
उता, पार्टी टुटफुटको श्रृंखला कायमै रहँदा मोहनविक्रम सिंह नेतृत्वको पार्टी पनि सग्लो रहेन । फेरि पनि फुटको श्रृंखला सुरु भयो । ०३६ सालको जनमत संग्रहमा भाग लिने नलिनेबारेमा कुरा नमिल्दा निर्मल लामा समूहले नेकपा (चौंथो महाधिवेशन) चौम गठन गरे भने सिंह नेतृत्वमा नेकपा मसाल (पातलो ‘स’)बन्यो ।
पाँचौ महाधिवेशनबाट सिंहलाई बहुमतले सांस्कृतिक कारबाही गरेपछि फेरि नेकपा मसालमा पनि विभाजन भयो । पातलो ‘स’ मसालको नेतृत्व सिंहले गरे भने मोटो ‘श’ मशालको नेतृत्व मोहन वैद्यले गरे । वैद्यसँगै पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेता रहे भने सिंहसँग चित्रबहादुर केसीहरु रहे, जतिबेला बाबुराम भट्टराई पनि सिंहसँगै थिए ।
२०४५ सालमा नेकपा मशालको नेतृत्व प्रचण्डको हातमा आयो । प्रचण्डलाई महामन्त्री बनाउँदै माओवादलाई आफ्नो मार्गनिर्देशक सिद्धान्त बनायो ।
२०४६ सालको जनआन्दोलनमा मदन भण्डारी, मनमोहन अधिकारीहरुले संयुक्त बाममोर्चा बनाएर जनआन्दोलनमा सहभागी भए भने सिंह, वैद्य, नारायणमान बिजुक्छे, निर्मल लामाहरुले संयुक्त जनआन्दोलन संयोजन समिति बनाएर जनआन्दोलनमा गए ।
०४६ सालको जनआन्दोलनपछि प्रचण्ड महामन्त्री रहेको मशाल, निर्मला लामा नेतृत्वको नेकपा (चौम), रुपलाल विश्वकर्माको सर्वहारा श्रमिक संगठनबीच एकता भई नेकपा (एकता केन्द्र) बन्यो । त्यतिबेला बाबुराम भट्टराई लगायतका नेताहरु सिंह छाडेर प्रचण्डतिरै आइसकेका थिए ।
सशस्त्र युद्धमा जाने विषयमा बहस हुँदा पार्टी एकता भएको दुई वर्षमै २०५१ सालमा प्रचण्ड, मोहन वैद्यहरु नेकपा (माओवादी) गठन गर्न सशस्त्र युद्धको तयारीमा लागे भने नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, लिलामणि पोखरेल लगायतका नेताहरु निर्मल लामासँगै रहे ।
..
टुटफुट र एकताका श्रृंखलाहरु नेताहरुबीच कायमै थियो । २०५९ सालमा मोहनविक्रमको मसाल र नारायणकाजी नेतृत्वको नेकपा (एकता केन्द्र) बीच पार्टी एकीकरण भयो । माओवादी शान्ति प्रक्रियामा आइसकेपछि २०६३ सालमा नारायणकाजी समूह प्रचण्ड नेतृत्वको माओवादीमा समाहित भयो ।
सशस्त्र युद्धमा सँगै लगेका नेताहरु माओवादी शान्ति प्रक्रियामा आएपछि फेरि नेताहरुबीच फेरि वैचारिक द्वन्द्व सुरु भयो । पहिलो संविधानसभापछि दोस्रो संविधानसभाको चुनाव अघि नै सत्ताको विषयमा विवाद चर्कियो ।
वैद्य समूहले पार्टीभित्र अघोषित रुपमा क्रान्तिकारी विचार समूह बनायो । त्यो समूहमा रामबहादुर थापा ‘बादल’, नेत्रविक्रम चन्द ‘विप्लव’, देव गुरुङ, लगायतका समूहले ७४ सालमा बौद्ध भेलाबाट नेकपा–माओवादी (ड्यास माओवादी) बनाए । ड्यास माओवादीले दोस्रो संविधानसभाको निर्वाचन बहिष्कार गर्यो ।
प्रचण्डसँगै माओवादी केन्द्रमा रहेका डा.बाबुराम भट्टराईले पनि प्रचण्डको साथ छाडे र नयाँ शक्ति पार्टी गठन गरे । देशकै वैकल्पिक पार्टीका रुपमा नयाँ शक्ति गठन गरेका भट्टराईले राजनीतिक गति लिन सकेनन् । नयाँ शक्ति पार्टीलाई मधेसवादी पार्टीसँग लगेर समाहित गरे । जसले गर्दा उनीसँगै रहेका अधिकांश नेताहरु प्रचण्डतिरै फर्किए ।
दोस्रो संविधानसभा निर्वाचनपछि सशस्त्र संघर्षमा जान आनाकानी गरेको भन्दै वैद्यबाट विप्लव अलग भए । त्यतिबेलासम्म मात्रिका यादवले पनि छुट्टै पार्टी चलाएका थिए भने मणि थापाहरु पनि अगग्गै थिए । सबै विभाजित शक्तिहरुलाई एकता गर्ने पहल भइरहँदा प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) नेकपा एमालेसँग एकता गर्न पुग्यो । एमालेसँग एकता भइ बनेको नेकपाको पहिलो अध्यक्ष केपी शर्मा ओली भए भने दोस्रो अध्यक्ष प्रचण्ड ।
अध्यक्ष ओली प्रधानमन्त्री भएपछि ओली–प्रचण्डको शक्ति संघर्ष सुरु भयो । एकताबाट देशकै सबैभन्दा ठूलो पार्टी बनेको नेकपाको संघर्ष चुलिँदै जाँदा एकतालाई वैधानिकताको प्रश्न उठाउँदै सर्वोच्च अदालतले सबैलाई पुरानै पार्टीको ठाउँमा पुर्याइदियो ।
सर्वोच्चको फैसलाबाट एमाले नै बन्नु परेको माधव नेपालसमूहको ओलीसँगको दूरी नजिकिन सकेन । अन्ततः नेता नेपालले केही नेताहरु लिएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरे ।
नेपालमा ७२ वर्षको इतिहास बोकेको कम्युनिस्ट पार्टीको संख्या अहिले डेढ दर्जन भन्दा बढी छ । तिनै कम्युनिस्ट पार्टीका नेताहरु आफ्नो राजनीतिक इतिहास र विरासत बिर्सिएर एकले अर्कोलाई हिलो छ्याप्ने काम गरिरहेका छन् ।